पोखरा- पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलगायतविरुद्धको मुद्दामा सरकारी पक्षले बहस सकाएको छ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा उपस्थित भएर सरकारी वकिलहरूले बहस सकेका हुन्। अदालतका सूचना अधिकारी सुरज अधिकारीले सरकारी पक्षको बहस सकिएको जानकारी दिए।
बुधबारको बहसमा महान्यायाधिवक्ताको कार्यालय काठमाडौँबाट बहस गर्नका लागि नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकाश गौतम कास्की पुगेका थिए। यस्तै, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारीले सरकारका पक्षबाट बहस गरेका हुन्।
प्रतिवादीहरूको बयान सकिएलगत्तै मंगलबारदेखि थुनछेक बहस सुरु भएको थियो। मंगलबार सहायक जिल्ला न्यायाधिवक्ताद्वय शर्मा र सुजाता पौडेलले बहस गरेका थिए। तर मंगलबार बहसकै बीचमा प्रतिवादी कृष्णबहादुर गुरुङ र उनकी छोरी रुन थालेपछि बहस रोकिएको थियो।
सरकारी पक्षका वकिलले प्रतिवादीलाई थुनामा पठाउन इजलासमा वकालत गरेका थिए। अभियुक्तहरू दोषी देखिएकाले थुनामा पठाउनुपर्ने उनीहरूको माग छ।
नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित ७ जना अभियुक्त सहकारीको रकम हिनामिनामा दोषी देखिएको दाबी गरे। यसअघि अघिल्लो दिनको बहसमा पनि शर्मा र पौडेलले उस्तै अडान राखेका थिए।
सूर्यदर्शन सहकारीमा सर्वसाधारणले राखेको बचत रकम गोर्खा मिडिया नेटर्वक प्रालि, नेचर हर्ब्स इन्टरनेसनल लगायत कम्पनीमा लगेर अपचलन गरेको अभियोग रवि लामिछानेलगायतका प्रतिवादीमाथि छ।
सरकारी वकिलको बहस सकिएसँगै बिहीबार रविलगायतविरुद्ध जाहेरी दिने पीडितका कानुन व्यवसायीले बहस गर्नेछन्। जाहेरवाला सहकारी पीडितका कानुन व्यवसायीले बहस गरेपछि प्रतिवादी रविलगायतका कानुन व्यवसायीले बहस गर्नेछन्।
प्रतिवादीका तर्फबाट सबैभन्दा पहिला पूर्वडीआइजी छविलाल जोशीका कानुन व्यवसायीले बहस गर्नेछन्। त्यसपछि लामिछानेका वकिलको पालो आउनेछ।
रवि लामिछानेका तर्फबाट १५ जना, पूर्वडीआइजी जोशीका तर्फबाट ६ जना, लिला पछाईंका १ जना र बाँकी प्रतिवादीका तर्फबाट २/२ जना कानुन व्यवसायीले बहस गर्नेछन्।
सूर्यदर्शन सहकारी ठगीमा हाइ प्रोफाइल अभियुक्त लामिछाने हुन्। उनी पूर्वउपप्रधान तथा गृहमन्त्री बनेका व्यक्ति हुन्। वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, हरि सुवेदी र डा.नारायण घिमिरे, अधिवक्ताहरू डा. नारायण कँडेल, रोहितराज बाँस्तोला, सुरज बस्नेत र सुविज्ञ पन्तले रवि लामिछानेको पक्षमा बहस गर्नेछन् ।
लामिछानेले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै अदालतमा पनि सरकारी वकिलको कार्यालयलाई जस्तै इन्कारी बयान दिएका छन्। लामिछानेले सहकारी ठगीको हुन सक्ने भन्दै मिडियामा समाचार आएकै बेलादेखि उनले ‘कुनै पनि विषय थाहा छैन’ भन्ने उल्लेख गरेका थिए।
तर सहकारीबाट लिएको रकमको ब्याज भुक्तानी गर्न रविले नै चेक काटेर दिने गरेको पछिल्लो अनुसन्धानले देखाएको छ। त्यसलाई रविले भने आफूले खाली चेकमा हस्ताक्षर गरेर कार्यालयको ड्रयरमा राखेपनि कसैले रकम र नाम भरिदिएको जिकिर गरेका छन्।
लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग छ। आइतबार पूर्वउपप्रधान एवं पूर्वगृहमन्त्री लामिछानेसहित ४४ जना र ८ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय रुपैयाँ बिगो मागदाबी गरिएको छ। सहकारी ठगीतर्फ लामिछानेलाई ३ करोड ३७ लाख ६५ हजार बिगो कायम गरिएको छ।
पोखराको सूर्यदर्शन सहकारी संस्थाबाट जीबी राईको अध्यक्षतामा चलाइएको गोर्खा मिडिया नेटवर्कमा रविका साझेदार रहेका छविलाल जोशीविरुद्ध ५ करोड २६ लाख ६५ हजार बिगो कायम गरिएको छ।
पूर्वराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसँग २ करोड १४ लाख ८ हजार ८४३ रुपैयाँ बिगो माग गरिएको छ। उक्त मुद्दाका अर्का प्रतिवादी छविलाल जोशी र लीला पछाइको बयान सकिएपछि बिहीबारदेखि लामिछानेको बयान सुरु भएको थियो।
यो मुद्दामा लामिछाने, जोशी, पछाई, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाल जोडिएका छन्। सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको छ। यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ।
सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड भन्दा बढी रकम बिगो अपचलन भएको अनुसन्धानले देखाएको छ।


