ललितपुर- ललितपुरमा गुण समूहले पाँचतारे होटेल रोयल टुलिप सञ्चालनमा ल्याएको छ।
१६ रोपनी क्षत्रफलमा फैलिएको होटलको बुधबार औपचारिक रुपमा सुरुवात भएको हो।
होटलमा ३०२ कोठा छन्। गुण समूहले यो होटलमा ६ अर्ब लगानी गरेको छ।
फ्रान्सको दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेन होटल रोयल टुलिपले यो होटल व्यवस्थापनको जिम्मा लिएको छ।

गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यले र टुलिपका अजय कुमार बकायाबी होटल व्यवस्थापनको औपचारिक सम्झौता पनि बुधबारै भएको छ।
सम्झौतापछि म्यासिफ होटल रोयल टुलिपमा रुपान्तरण भएको गुण समूहका अध्यक्ष शाक्यले घोषणा गरे।

पहिलो चरणमा कन्फ्रेन्स हल, सेमिनार हल सञ्चालनमा ल्याउने तयारी गरेको होटलले ३ महिनापछि कोठा सञ्चालनमा ल्याउने उनले जानकारी दिए।
५ तारे होटलको मान्यता प्राप्तीलगत्तै क्यासिनो सञ्चालनमा ल्याउने योजना रहेको उनले जानकारी दिए। होटलमा प्रयोग गरिएका सम्पूर्ण सामान रोयल टुलिप ब्राण्डका हुनेछन्।

टुलिपका निर्देशक वकायाले उच्चस्तरीय सेवा दिनका लागि जनशक्ति तालिममा केन्द्रित रहेको बताए।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले रोयल टुलिपसँगको सम्झौता आफ्नो कार्यकालकै महत्वपूर्ण रहेको बताए।

होटलमा ६ वटा हल र ३ वटा बैंक्वेट हल छन्। जसमा तीन हजार व्यक्ति क्षमता छ। होटलमा ६०० वटा चारपांग्रे सवारीसाधन पार्किङ क्षमता छ।
होटलमा १२ वटा एलिभेटर्स, वाटर ट्रिटमेन्ट प्लान्ट, आफ्नै बोटलिङ प्लान्ट रहेका छन्।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अन्तर्राष्ट्रिय चेन भित्रिएसँगै पर्यटन क्षेत्रमा थप टेवा पुग्ने बताएका थिए।



तस्बिर : नेपाल फोटो लाइब्रेरी


