काठमाडौँ- नुवाकोटको शेरा दरवारको जग्गा कब्जा प्रकरणमा मुछिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रक्षात्मक बनेका छन्।
पृथ्वीनारायण शाहका पाला नुवाकोटको शेराबेंसीमा बनेको दरबारको १६४ रोपनी जग्गा आफू प्रधानमन्त्री बनेका बेलाका आफ्ना स्वकीय सचिव विकेश श्रेष्ठको परिवारले आफ्नो नियन्त्रणमा ल्याएपछि प्रचण्ड रक्षात्मक बेनका हुन्।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने, ‘सरकारमा हुँदा जे बोल्थेँ। अहिले सरकार बाहिर हुँदा पनि त्यही बोलेको छु। म भावुक छु भन्ने सबैले बुझिसक्नुभएको छ। मेरो नियत र निष्ठा सफा छ भन्ने कुरा अब बिस्तारै जनताले बुझ्दै गएका छन्।’ भ्रष्टाचारको अन्त्य गर्न एकले अर्कालाई दोषारोपण गरेर मात्रै नहुने उनको भनाइ छ।
हदबन्दीमाथिको जग्गा जोगाउन राजपरिवारका सदस्यहरूले खोलेको कम्पनीको स्वामित्व नाटकीय रूपमा परिवर्तन गरी श्रेष्ठले आफ्नो परिवारका सदस्यका नाममा दर्ता गराएका छन्। श्रेष्ठ २०६५ मा प्रचण्ड प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए।
व्यक्तिगत कम्पनीका नाममा दर्ता गरिएको भेटिएपछि त्यसमा संलग्नलाई कारबाही गर्न र जग्गा सरकारका नाममा फिर्ता ल्याउने प्रक्रिया सुरु गर्न सीआईबीले सरकार र अख्तियारलाई पत्राचार गरेको छ।
तर प्रचण्डले भने आफू पछिल्लो पछिल्लोपटक प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध अभियान चलाएको जिकिर गर्दै आफूले भ्रष्टाचारविरोधी काममा सहयोग गर्ने बताए।
‘तर जहाँ भ्रष्टाचार भएको छ। समाजले मानेको छ। सदनमा प्रश्न उठेका छन् गम्भीर ढंगले जनताले हेर्न चाहेका छन् इमान्दारितासाथ लागेको। त्यसमा मेरो साथ रहन्छ भनेको छु,’ उनले थपे, ‘म सरकारमा रहँदा जे बोल्दै आएको थिएँ त्यसमा अहिले पनि कुनै फरक छैन।’
बिहीबार मात्रै राज्य व्यवस्था समितिको बैठकमा पनि उनले यस्तै आशयको अभिव्यक्ति राखेका थिए। शेरा दरबारको जग्गासम्बन्धी विषयमा दोषी देखिए आफू काबरबाही भोग्न तयार रहेको बताएका थिए।
‘राज्यको जमिन व्यक्तिको नाममा गएको छ र छानबिन गर्दै जाँदा प्रचण्ड नै देखिएको छ भनेपनि छानबिनको दायरामा ल्याउन आग्रह गर्छु,’ उनले भनेका थिए। आफूले ललिता निवासको जग्गा सरकारको नाममा फिर्ता गरे जस्तै शेरादरबारको जग्गा पनि फिर्ता ल्याएमा सहयोगका साथै सरकारलाई धन्यवाद पनि दिने बताएका थिए।
‘राज्यको र सरकारको जमिन कुनै व्यक्तिको नाममा गर्छ भने जो कोही होस् कानून बमोजिम ल्याउनुपर्छ। यदि छानबिन गर्दै जाँदा प्रचण्ड नै देखापर्यो भने त्यसलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ। दोषीलाई कारबाही गरियोस्,’ उनले भनेका थिए, ‘सरकारलाई सहयोग गर्न म तयार छु भनेकै छु। कानुन विपरित काम भएको छ भने जसरी ललिता निवासको कयौं रोपनी जग्गा सरकारको नाममा ल्याइयो। त्यसरी नै शेरा दरबारको पनि भयो भने म सरकारलाई लागि सहयोग मात्र होइन धन्यवाद पनि भन्नेछु।’
प्रचण्डलाई जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले शेरा दरबारको विषयलाई गम्भीरतापूर्वक लिएको र अनुसन्धान भइरहेको बताएका थिए। उनले कानुन बमोजिम यो प्रकरणमा जोडिएका सबैलाई कारवाही अगाडि बढाउने पनि बताए।
‘शेरा दरबारको जग्गासम्बन्धी विषयमा गम्भिरतापूर्वक अनुसन्धान भइरहेको छ। अनुसन्धान हुन्छ। र कानुन बमोजिम कारबाही अगाडि बढ्छ। यदि त्यो जग्गा गलत ढंगले कसै व्यक्ति, कम्पनीका नाममा गएको भने त्यो फिर्ता हुन्छ,’ उनले भने, ‘पूर्वप्रधानमन्त्री प्रचण्डजीले यदि गैरकानुनी ढंगले गएको छ भने त्यो फिर्ता हुनुपर्छ भन्नु भएको छ। उहाँले सरकारलाई धन्यवाद दिन तयार भएर बस्नुभएको छ। तपाई सरकारलाई धन्यवाद दिन तयार भएर बस्नु भए हुन्छ। सरकारले यसमा गर्नुपर्ने काम गर्छ। धन्यवाद लिन्छ।’
नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अर्का पूर्वप्रधानमन्त्री प्रचण्डको उपस्थितिमा भ्रष्टाचारको फाइल टुंगो लगाउनुपर्ने बताएका थिए।
‘फाइल खोल्दिन्छु’ भनेको सुन्दा सुन्दा नागरिक नै आजित भएको अवस्था रहेको भन्दै उनले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नै तीन जनालाई बालाएर कुनकुन काण्डको फाइल खोल्ने हो टुंगो लगाउन सुझाव दिए। प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै प्रचण्डले गिरिबन्धु टी इस्टेटको फाइल खोलेरै छोड्ने जिकिर गरेका थिए। प्रचण्डमाथि पनि माओवादी सेनाका लडाकुका लागि गएको रकम भ्रष्टाचार गरेको आरोप लाग्ने गरेको छ। सोही कुरलाई लक्षित गर्दै थापाले सबै भ्रष्टाचारका काण्डमा निष्कर्ष निकाल्नुपर्ने बताएका थिए।
‘यहाँ पूर्वप्रधानमन्त्री आजको बैठकमा आउनुभएको छ। अर्को पूर्वप्रधानमन्त्री अर्को समितिमा आइराख्नुभएको छ। बरु अर्को एक जना पूर्वप्रधानमन्त्रीलाई चाँहि आमन्त्रित गरेर भएतापनि यही समितिमा बसरे छलफल गरौं,’ उनले भने, ‘भ्रष्टाचारको कुन–कुन कण्डको फाइल खोल्ने हो टुंगो लगाउँ। फाइल खोल्दीन्छु भनेको सुन्दा सुन्दा नागरिक नै आजित भएको अवस्था छ।’
