पोखरा- पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकिएको छ।
प्रतिवादीकातर्फका अधिवक्ताहरूको बहस बुधबार सकिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले बताए।
यो सहकारी ठगीमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई, संञ्चालक साझेदारहरू लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायतका प्रतिवादी छन्।
बुधबारबाटै जाहेरी दिनेहरूका तर्फबाट जवाफी बहस सुरु भएको छ। त्यसपछि सरकारी वकिल कार्यालयको तर्फबाट बहस हुनेछ। जवाफी बहस सकिएपछि आदेश आउने छ।
यो मुद्दामा शुक्रबारसम्ममा आदेश आउन सक्ने खनालको भनाइ छ। आदेश आउने समय नजिकिएसँगै पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सूर्यदर्शन सहकारी प्रकरणमा पुस ५ गते थप र ७ गते पूरक अभियोजन गर्दा गर्दै १ अर्ब ५१ करोड रुपैयाँ माग दाबी गरिएको छ।
यो मुद्दामा रविका तर्फबाट १५ जना वकिल बहसका लागि तयार पारिएका थिए भने जोशीका तर्फबाट ६ जनाले बहस गरेका थिए।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा यो मुद्दामा थुनछेक बहस चलिरहेको छ।
अभियोजनकर्ता (सरकारी पक्ष)बाट बहसमा महान्यायाधिवक्ताको कार्यालय काठमाडौँबाट बहस गर्नका लागि नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकाश गौतम कास्की पुगेका थिए। यस्तै, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारीले सरकारका पक्षबाट बहस गरे।
अघिल्लो मंगलबारदेखि थुनछेक बहस सुरु भएको थियो। सरकारी पक्षबाट सहायक जिल्ला न्यायाधिवक्ताद्वय शर्मा र सुजाता पौडेलले बहस गरेका थिए।
सरकारी पक्षका वकिलले प्रतिवादीलाई थुनामा पठाउन इजलासमा वकालत गरेका थिए। अभियुक्तहरू दोषी देखिएकाले थुनामा पठाउनुपर्ने उनीहरूको माग थियो।
नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित ७ जना अभियुक्त सहकारीको रकम हिनामिनामा दोषी देखिएको दाबी गरे। यसअघि अघिल्लो दिनको बहसमा पनि शर्मा र पौडेलले उस्तै अडान राखेका थिए।
सूर्यदर्शन सहकारीमा सर्वसाधारणले राखेको बचत रकम गोर्खा मिडिया नेटर्वक प्रालि, नेचर हर्ब्स इन्टरनेसनल लगायत कम्पनीमा लगेर अपचलन गरेको अभियोग रवि लामिछानेलगायतका प्रतिवादीमाथि छ।
प्रतिवादी रवि लामिछानेका तर्फबाट १५ जना, पूर्वडीआइजी जोशीका तर्फबाट ६ जना, लिला पछाईंका १ जना र बाँकी प्रतिवादीका तर्फबाट २/२ जना कानुन व्यवसायी बहसका लागि पुगेका थिए।
सूर्यदर्शन सहकारी ठगीमा हाइप्रोफाइल अभियुक्त लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, हरि सुवेदी र डा.नारायण घिमिरे, अधिवक्ताहरू डा. नारायण कँडेल, रोहितराज बाँस्तोला, सुरज बस्नेत र सुविज्ञ पन्तले रवि लामिछानेको पक्षमा बहस गरे।
लामिछानेले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै अदालतमा पनि सरकारी वकिलको कार्यालयलाई जस्तै इन्कारी बयान दिएका थिए। लामिछानेले सहकारी ठगीको हुन सक्ने भन्दै मिडियामा समाचार आएकै बेलादेखि उनले ‘कुनै पनि विषय थाहा छैन’ भन्ने उल्लेख गरेका थिए। उनको पक्षबाट बहस गरेका अधिवक्ताहरूले पनि रविमाथिको अभियोग नै गलत भएको जिकिर गर्दै बहस गरेका थिए।
लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग छ। आइतबार पूर्वउपप्रधान एवं पूर्वगृहमन्त्री लामिछानेसहित ४४ जना र ८ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय रुपैयाँ बिगो मागदाबी गरिएको छ। सहकारी ठगीतर्फ लामिछानेलाई ३ करोड ३७ लाख ६५ हजार बिगो कायम गरिएको छ।
पोखराको सूर्यदर्शन सहकारी संस्थाबाट जीबी राईको अध्यक्षतामा चलाइएको गोर्खा मिडिया नेटवर्कमा रविका साझेदार रहेका छविलाल जोशीविरुद्ध ५ करोड २६ लाख ६५ हजार बिगो कायम गरिएको छ।
पूर्वराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसँग २ करोड १४ लाख ८ हजार ८४३ रुपैयाँ बिगो माग गरिएको छ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको छ। यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ।
सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड भन्दा बढी रकम बिगो अपचलन भएको अनुसन्धानले देखाएको छ।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा पनि रवि र छविविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। १ अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक समिति सदस्य लामिछाने र छविलाल जोशीसहित, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामाविरुद्ध मुद्दा दर्ता भएको छ।
यसैगरी, पूर्वकोषाध्यक्ष सविना आले मगर, सदस्य भक्तबहादुर भोलन, सविता लामा, पूर्वसचिव प्रदीप लामा, लेखा संयोजक गणेशराज श्रेष्ठ, पूर्वलेखा समिति सदस्य सुनिता नेवा, पूर्वसदस्य शान्तिकुमारी सुवेदी, कर्जा उपसमिति सदस्य रोमन काफ्ले, कमल लामा, व्यवस्थापक नविन अछामी, पूर्वअध्यक्ष कल्पना कुमारी श्रेष्ठ, पूर्वसञ्चालक समिति सदस्य राजु बरालविरुद्ध पनि मुद्दा दर्ता भएको छ।
जिबी ग्रुप अफ कम्पनिजका सञ्चालक विशाल तामाङ, असरफ अली सिद्धिकी, नेचर नेष्ट प्रा.लि.का सञ्चालक अनन्त बाबु राई, खिमानन्द कँडेल, बल्लभ नेपाल, निर्देशक गोकुल श्रेष्ठ, देव दीप एग्रिकल्पचर एण्ड एनिमल हस्वेण्ड्री फार्मका सञ्चालक भुपेन्द्र राई, भवती बालुवाखानी प्रा.लि.का सञ्चालक मुखिया कान्छा गुरुङविरुद्ध पनि मुद्दा दायर गरिएको अभियोगपत्रमा उल्लेख छ।
यसैगरी, गोर्खा हर्वल प्रोडक्सन प्रा.लि.का सञ्चालक जनक भट्टराई, स्पीङ उड रियलस्टेट प्रा.लि.का सञ्चालक भगवती बम्जन, न्यू सुलक्स अफसेट प्रिन्टर्सका सञ्चालक देवकुमार तामाङ, गोर्खा ग्रुप अफ कम्पनीका सञ्चालक शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, सारेगामा रेकर्ड प्रालिका सञ्चालक किरण पुडासाईं, गोरखा ग्रुप अफ कम्पनीका शेयरधनी पुष्पराज पौडेल र सुपर सिटी इन्टरप्राइजेजका शेयर सदस्य कृष्णबहादुर पोखरेल प्रतिवादी छन्।
यसैगरी, रवि र छविलगायतमाथि रुपन्देही, चितवन र पर्सामा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। त्यहाँ पनि उनीहरूविरुद्ध सहकारी ठगीमा मुद्दा लैजाने तयारी सम्बन्धित जिल्लाका सरकारी वकिलको कार्यालयहरूको तयारी छ।
