काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाना पकाउने ग्यासको वर्गीकरण गर्ने घोषणा गरेका छन्। नेपाल आयल निगमको वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्।
खाना पकाउन प्रयोग हुने ग्यासलाई औद्योगिक र घरायसी प्रयोजनमा छुट्याएर फरक मूल्य कायम गर्ने काम माघभित्र कार्यान्वयनमा ल्याउने उनको घोषणा छ।
हाल सरकारले खाना पकाउने ग्यासमा एकमुष्ट अनुदान दिइरहेको छ। जसबापत वार्षिक ११ अर्ब रुपैयाँ हाराहारी अनुदानमा खर्च भइरहेकाले उद्योगलाई अनुदान दिन नसकिने मन्त्री भण्डारीको भनाइ छ।
मन्त्री भण्डारीका अनुसार अहिले प्रतिसिलिन्डर ३ सय रुपैयाँ हाराहारी अनुदान दिने गरिएको छ। त्यो अनुदान घरायसी प्रयोजनमा केन्द्रित गरिने तर उद्योगमा त्यस्तो अनुदान नदिइने उनको भनाइ छ।
अनुदान घरायसी प्रयोजनमा मात्र सीमित गर्ने हो भने खर्च ९ अर्ब रुपैयाँले बच्ने उनको भनाइ छ। बरु, घरायसी प्रयोजनमा दिएको अनुदान अझै बढाउन सकिने देखिएको समेत उनको भनाइ छ। यसले आमजनतालाई सहुलियत दिने तयारी रहेको उनले बताए।
सरकारले लामो समयदेखि तयारी गरे पनि व्यवहारमा ल्याउन सकेको छैन। उनले यसका लागि आवश्यक तयारी गर्नसमेत निगमलाई निर्देशन दिए।


