काठमाडौँ– गैरआवासीय नेपालीको लगानीमा सञ्चालित ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले बिहीबार ओम मेगाश्रीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो। आईपीओ निष्कासन गर्न लागेको ओम मेगाश्री मुलुककै पहिलो औषधि उद्योग हो।
उद्योगले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। ७० प्रतिशत संस्थापक र बाँकी ३० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो। ओम मेगाश्रीको चुक्ता पुँजी ६० करोड रुपैयाँ छ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। आईपीओ निष्कासन यही माघको तेस्रो सातादेखि सुरु हुने कम्पनीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताए। उनका अनुसार पहिलो चरणमा वैदेशिक रोजगारीमा जानेलाई आईपीओ जारी हुनेछ । त्यसपछि सर्वसाधारणलाई निष्कासन गर्ने योजना रहेको छ।
सवा अर्ब लगानी भएको उद्योगले गत फागुन ७ गतेदेखि औपचारिक औषधि उत्पादन थालेको हो। २०७३ साल जेठ ३० गते प्रालिका रूपमा सुरु भएको ओम मेगाश्री २०७९ मा सर्वसाधारणलाई आईपीओ जारी गर्न पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो।
ओम मेगाश्रीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जीएमपी (असल उत्पादन अभ्यास) मापदण्ड पूरा गर्दै विभिन्न किसिमका औषधिहरु उत्पादन गरिरहेको छ। उद्योगको नेतृत्व एनआरएनए पूर्वउपाध्यक्ष श्रेष्ठले गरेका छन्।
सुरुवाती चरणमै ३ लाख २८ हजार ५२ वर्ग फिटमा फैलिएको ओम मेगाश्रीको अत्याधुनिक उत्पादन प्रविधी रहेको छ। ओम मेगाश्री प्रारम्भमा कार्डियो, डाइबेटिज, न्यूरोसाइकियाट्रिक र अन्य विशेष औषधि उत्पादनमा केन्द्रित छ। ट्याब्लेट, क्याप्सुल, ओइमेन्टस, पाउडरको उत्पादन सुरु भएको छ। आगामी दिनमा आई, इयर ड्रप, सेफा प्रोडक्ट्सका औषधि ल्याउने योजना कार्यान्वयन हुने तयारीमा छ।
कम्पनीले हालसम्म ६ दर्जन औषधिहरू उत्पादन गर्न अनुमति पाइसकेको छ। ३ दर्जन औषधि उत्पादन गरी सोको बजारीकरणको कार्य सुरु भइसकेको छ।


