काठमाडौँ- आन्तरिक राजस्व विभागको सफ्टवेयर ह्याक गरी भाटभटेनी सुपरमार्केटले तिर्नुपर्ने करको दायित्व बढाएको खुलेको छ।
भाटभटेनीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई पत्र लेख्दै आफूले तिर्नुपर्ने करको दायित्व बढाइएको जानकारी गराएपछि गरिएको अनुसन्धानमा यस्तो तथ्य फेला परेको हो।
यसरी भाटभटेनीले तिर्नपर्ने करको दायित्व बढाइदिएको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा पर्वतको बिदाहा गाउँपालिका–३ घर भई चितवन भरतपुर बस्ने २८ वर्षीय सन्तोष पराजुली र गोरखाको भीमसेन थापा गाउँपालिका–४ का २२ वर्षीय परिन पाण्डे छन्। उनीहरूलाई चितवनबाट पक्राउ परेका हुन्।
दुवै जनाले मिलेर आन्तरिक राजस्व विभागको सफ्टवेयरको ह्याक गरी भाटभटेनीले तिर्नपर्ने करको दायित्व बढाइदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
‘एकीकृत कर प्रणाली’ बाट करदाता भाटभटेनी सुपरमार्केटको युजर आईडी र पासवर्डमा पहुँच पुर्याई करको दर हेरफेर गरेको सीआईबीका प्रवक्ता तथा एसपी सुधीरराज शाहीको भनाइ छ। यी दुई जनाले १३ करोड ९ लाख ५९ हजार ६०९ रुपैयाँ बढी राजस्व तिर्नुपर्ने गरी सिस्टममा सेट गरिदिएका थिए।
पक्राउ परेका व्यक्तिले प्रयोग गर्ने ल्यापटप, सीपीयू, वाइफाइ राउटर, डीभीआर र मोबाइल बरामदसमेत गरिएको सीआईबीको भनाइ छ।
पक्राउ परेकाहरू बिहादी बिजनेस म्यानेजमेन्ट चितवनको नीजी फर्मका लेखापरीक्षक हुन्। उनीहरूमाथि विद्युतीय कारोबारको कसुरको काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।


