काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक प्रहरीलाई समयानुकूल स्रोत र साधन सम्पन्न बनाइने बताएका छन्। ४६औँ पर्यटक प्रहरी दिवसको अवसरमा पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्।
बदलिँदो समयका चुनौती सामना गर्नका लागि पर्यटक प्रहरी पर्यटक प्रहरीलाई साधनसम्पन्न बनाउनु र यसका लागि सरकारले काम गरिरहेको उनले उल्लेख गरे। आगामी दिनमा पर्यटक प्रहरीको संख्या पनि बढाउन मन्त्रालयले पहल गरिरहेको उनको भनाइ छ।
‘हाल २४६ जना मात्र पर्यटक प्रहरी हुनुहुन्छ। नेपालको भूगोल अनुसार २४६ जना मात्र पर्यटक प्रहरी रहनु एकदमै न्यून सङ्ख्या हो,’ उनले भने, ‘आगामी दिनमा यसलाई बढाउन मन्त्रालयले नेपाल प्रहरीसँग छलफल र समन्वय गर्छ।’
२४६ जना पर्यटक प्रहरीले देशका २९ इकाइबाट सेवा दिँदै आएका छन्। अहिलेसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा पर्यटक प्रहरी इकाइ स्थापना भएको छैन। ‘माघको अन्तिमसम्म सुदूरपश्चिमको खप्तड र कर्णालीको रारामा पर्यटक प्रहरी इकाई स्थापना गर्ने निर्णय भइसकेको छ,’ उनले भने, ‘यसका लागि आवश्यक साधन स्रोत व्यवस्था सरकारले गर्छ।’
पर्यटकहरू अतिथि भएकाले उनीहरूलाई जति धेरै ‘अतिथिदेवो भव’को रूपमा व्यवहार गर्न सके पर्यटकको संख्या बढाउन सकिने उनको भनाइ छ। पर्यटन क्षेत्रको विकासका लागि नेपाल नआएका पर्यटकलाई एकपटक ल्याउने र एकपटक आएका पर्यटकलाई पटकपटक ल्याउने रणनीति मन्त्रालयले बनाइरहेको उनको उल्लेख गरे।


