काभ्रे- गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीपहिरो काभ्रेको बेथानचोक गाउँपालिकामा ठूलो क्षति भयो।
थुप्रै घरजग्गा, सडक र गाडी बगाएको बेथानचोकका स्थानीय अझसम्म पनि अस्थायी टहरामा नै छन्।
जिल्लाको १३ स्थानीय तहमध्ये पाँचखाल, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० तहमा बाढीपहिरोमा परी ७८ जनाले ज्यान गुमाउनुपर्यो। ७५ जना घाइते भएका थिए।
तर बेथानचोकको जनजीवन बिस्तारै लयमा फर्कँदैछ। गत असोजमा बाढीपहिरोले मानवीय क्षतिसँगै ठूलो परिमाणमा अन्नबाली बगाएको थियो। ठूलो संख्यामा पशुचौपाया बगेका, पुरिएका थिए। घरहरू क्षतिग्रस्त भएका थिए। अत्यासलाग्दो परिस्थिति सामना गरेका बेथानचोकबासी बत्ती,सडक र सञ्चार सुविधाको अभावमा केही दिन बाँचे।
पालिकाको प्रयासमा दशैंअघि नै अस्थायी ट्रयाक खोल्ने, बिजुली पुर्याउने, खानेपानीका संरचना मर्मत गर्नेलगायत आधारभूत काम भयो। त्यसपछि पहिरो पन्छाएर खेती लगाउने क्रम चलिरहेको छ।
आधारभूत सुविधाहरू पुर्याउने काम भए पनि स्थायी संरचना पुनर्निर्माणका लागि स्थानीयले लामो समय कुर्नुपर्ने देखिन्छ। किनकि पनौतीबाट बेथानचोक पुग्ने मुल सडक झन्डै ७५ प्रतिशतले ध्वस्त छ।
४ महिनापछि कस्तो बन्यो त बेथानचोक? हेरौँ विकल थापाले खिचेका तस्बिरहरू:
















