काठमाडौँ– प्रेममा परी विवाह गर्न भनी भागेका प्रेमीप्रेमिका घरभित्रै मृत अवस्थामा भेटिएका छन्।
रुकुम पश्चिम जिल्ला त्रिवेणी गाउँपालिका–४ खुम्चेरीका १९ वर्षीय लोकेन्द्र खड्का र उनकी प्रेमिका १९ वर्षीया सपना पुनमगर शनिबार मृत भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार लोकेन्द्रकै घर नजिकै रहेको अस्थायी टहरामा मृत अवस्थामा भेटिएका हुन्। लोकेन्द्र झुन्डिएको अवस्थामा र सपना भुईँमा मृत भेटिएका हुन्।
४ दिन अघि बिहे गर्ने भन्दै उनीहरू घरबाट भागेका थिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


