काठमाडौँ, १३ माघः सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट पास भई प्रतिनिधिसभामा आएका विधेयकबारे प्रमुख सत्तापक्ष दल नेपाली कांग्रेस र नेकपा (एमाले)सँग छलफल गरेका छन्।
सभामुख घिमिरेले आइतबार कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलासँग उक्त विषयमा छलफल गरेका हुन्।
सिंहदरबारस्थित सभामुख कार्यकक्षमा भएको कुराकानीमा सभामुख घिमिरेले प्रतिनिधिसभामा रहेको संवैधानिक परिषद्सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकका विषयमा धारणा माग गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ।
संवैधानिक परिषद्सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकलगायत प्रतिनिधिसभामा अड्किएको विषयमा सत्तारुढ दलको धारणा सभामुखले माग गरेको बैठकमा सहभागी कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।

‘सभामुखले राष्ट्रियसभाबाट पारित भएर आएका संवैधानिक परिषद्सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकलगायत प्रतिनिधिमै अड्किएका अन्य विधेयकबारे धारणा माग गर्नुभएको छ, त्यसबारेमा पार्टीमा छलफल गरेर सोमबार फेरि सभामुखसँग बस्ने गरी आजको छलफल टुङ्गिएको छ,’ कांगेस प्रमुख सचेतक घिमिरेले भने।
सभामुखसँग बसेर बाहिरिएका एमाले प्रमुख सचेतक बर्तौलाले भने संसद्मा विचाराधीन सबै विधेयक अघि बढ्ने बताए।
संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेका लागि आह्वान गरिएको छ।
संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रमुख सचेतक बर्तौलाले जानकारी दिए।

संसद्को हिउँदे अधिवेशनको मिति नजिकिएसँगै सभामुख घिमिरे सक्रिय बनेका छन्।
घिमिरेले आजै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतकसँग छलफल गरेका छन्।



