काठमाडौँ – रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देही अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेपछि उक्त पार्टीकी सांसद सोविता गौतमले असन्तुष्टि प्रकट गरेकी छन्।
सुप्रिम सहकारीको मुद्दामा जिल्ला अदालत रूपन्देहीले लामिछानेसँग १ करोड रुपैयाँ धरौटी मागेपछि सांसद गौतमले एक १ करोड धरौटी व्यक्तिगत रूपमा आफूलाई बढी लागेको जस्तो महसुस भएको बताइन्।
सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भनिन्, ‘यही अदालतमा सहकारीका सञ्चालक रहेकाहरू ५ लाख, १० लाख, १२ लाख धरौटीमा रिहा भएका छन्। यहीँ सभापतिजीलाई सबै प्रकारका प्रमाणहरू भएको अवस्थामा पनि एक करोड धरौटी माग भएको अवस्था छ। के भनौँ हामीले ? अदालतको जे आदेश छ, हामीले ससम्मान ग्रहण त गर्नैपर्छ।’
अदालतको आदेश बाध्यकारी भएको भन्दै उनले थपिन्, ‘अब हामी के भनौँ ? अदालतले आदेश गरेको छ। अदालतको आदेश मान्नुपर्छ। ग्रहण गर्नुपर्छ। सम्मानित अदालतमाथि प्रश्न गर्ने क्षेत्राधिकार छैन र हामीले गर्नुपर्दैन।’
यद्यपि, अदालतको आदेश ग्रहण गर्नुको विकल्प नभएको उनको भनाइ थियो।
‘यस कुरालाई यहाँहरूले आआफ्नो हिसाबले मूल्यांकन गर्नुहोला साथीहरू। मैले भन्ने कुरा केही पनि छैन। मैले संसदमा पनि बिगो कायम गर्दा र धरौटी खुलाउँदा स्पष्ट कानुन छैन भनेर उठाएकी छु। यो हाम्रा सभापतिजीको विषय मात्र होइन। धेरैलाई मर्का परिरहेको छ,’ उनले भनिन्।
