काठमाडौँ- तीन महिनाका लागि वैदेशिक सहयोग रोक्ने अमेरिकी सरकारको निर्णयले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को कार्यक्रम प्रभावित नहुने भएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विदेश मन्त्रालय र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड)का तीन महिनाका लागि रोक्ने निर्णय भएपनि एमसीसी भने प्रभावित नहुने भएको हो।
विदेशमन्त्रीको निर्णयमा एमसीसी नपरेकाले यो कार्यक्रम प्रभावित नहुने नेपालको अर्थ मन्त्रालयले जानकारी दिएको हो। नेपालमा एमसीसीले प्रसारण लाइन निर्माण गर्न र सडक पूर्वाधार सुधारमा ५५ करोड अमेरिकी डलर (करिब ७५ अर्ब ३५ करोड रुपैयाँ) अनुदान प्रदान गर्दै छ। हालै ५ करोड रकम थपेर ५५ करोड बनाइएको हो।
एमसीसीमा नेपाल सरकारले पनि १९ करोड ५० लाख अमेरिकी डलर (करिब २६ अर्ब ७१ करोड रुपैयाँ)लगानी गर्दै छ। गत वर्ष कार्यान्वयन सुरु भएको यो परियोजना सक्नका लागि अब ४ वर्ष बााकी छ। परियोजना नसकिए अमेरिकाले दिएको अनुदानबाट खर्च हुन बाँकी रकम फिर्ता लैजानेछ।
अर्थ मन्त्रालयले युएसएडबाट हुने परियोजना भने ९० दिनका लागि स्थगित भएको जानकारी दिएको छ। आफ्नो अनुदानबाट हुने कार्यक्रम रोक्क गर्नका लागि अमेरिकी सहयोग नियोग (युएसएड)ले मन्त्रालयलाई पत्र पठाएको थियो।
हाल युएसएडको सहयोगमा ६९ करोड ५० लाख अमेरिकी डलर (करिब ९५ अर्ब रुपैयाँ)का परियोजनाहरू चालू अवस्थामा छन्।


