काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की केन्द्रीय सदस्य ज्वाला (टीका) संग्रौलाले ‘रास्वपा हुँ’ भन्नेहरू कुनै न कुनै काण्डमा मुछिएकै भेटिने बताएकी छन्। फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो उल्लेख गरेकी हुन्।
‘जजसले आज मेरो बिरोध गरेर आफू रास्वपा हुँ भनिरहेका छ्न्, तिनीहरुको विगत खोज्दै जाने हो भने एउटा न एउटा काण्डमा मुछिएकै छन्,’ रास्वपाकै नेताहरूलाई चेतावनी पनि दिँदै ज्वालाले फेसबुकमा लेखेकी छिन्, ‘मैले पर्दाफास गर्दै गएँ भने भोलि नाकमुख देखाउन गाह्रो होला महोदय! तसर्थ संयमित बन्नुस्।’
केही दिनअघि उनले एमालेका नेता महेश बस्नेतलाईलाई आफ्ना पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री हुँदा बलात्कार मुद्दामा जोगाएको टिप्पणी गरेकी थिइन्। त्यसलाई लिएर रास्वपा कार्यकर्ताहरूले ज्वालाको आलोचना गरेका थिए। उनै आलोचना गर्नेहरूमाथि ज्वालाको आक्रोश पोखिएको हो।
उक्त अभिव्यक्ति आफूले ३ पटक सच्याउँदा पनि आफूलाई रास्वपा कार्यकर्ताले खेद्न नछोडेको उनको गुनासो पनि छ। ‘मेरो एउटा सामान्य लेखाइको त्रुटि, त्यो पनि मैले सच्याएर ३ वटा स्पष्टीकरणसहितका स्टाटस लेख्दा समेत मलाई खेद्न छोडेका छैनन्,’ संग्रौलाले लेखेकी छिन्, ‘यसबाट म कतै बिचलित भएकी छैन, किनकी यस्ता बाधाका पहाडमाथि टेक्दै जीवनको उकाली चढेको निकै साल भैइसक्यो।’
पार्टीमा अनियमितता गरेर निलम्बनमा परेका भूतपूर्व रास्वपाहरूले समेत आफ्नो आलोचना गरेकोमा उनको आक्रोश अझ बढी छ।
आफू रवि लामिछानेका कारण मात्रै पार्टीमा टिकिरहेको बताएकी उनले आवश्यक परे आफ्नो अभिव्यक्तिबारे पार्टीको अनुशासन समितिलाई समेत जवाफ दिन तयार स्टाटसमा लेखिएको छ। 
