काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ।
बुधबार बिहान साढे ११ बजे बोलाइएको बैठकमा सांसदहरूको गणपुरक संख्या नपुगेपछि स्थगित गरिएको सभापति दिपक सिंहले जानकारी दिए।
बिहान साढे ११ बजे बोलाइएको बैठकमा १ घण्टासम्म पनि जम्मा १२ जना सांसद मात्रै पुगेका थिए।
छलफलका लागि बोलाइएका ऊर्जामन्त्री दिपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ पनि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा पुगेका थिए।
यद्यपि सांसदहरूको कोरम नपुगेर बैठक स्थगन भएपछि ऊर्जामन्त्री र राज्यमन्त्री फर्किए।
समितिको बैठकका लागि ५१ प्रतिशत सांसदको उपस्थिति अनिवार्य हुनुपर्छ। हाल २५ सदस्यीय रहेको समितिमा गणपुरक संख्या पुग्न १३ जना सांसद्को उपस्थिति आवश्यक हुन्छ।
बैठकमा सहभागी हुन एमालेबाट ५, कांग्रेसबाट २, माओवादी केन्द्रबाट १, राप्रपाबाट २ र जसपाबाट १ सांसद बैठकक्षमा पुगेका थिए।
सांसदहरू उर्मिला माझी, कल्पना चौधरी, खम बहादुर गर्बुजा, गोकर्ण राज विष्ट, डा चन्द्र कान्त राउत, ठाकुर प्रसाद गैरे, दयाल बहादुर शाही, दिनेश कुमार यादव, निर्मला कोइराला, निशा डाँगी, प्रकाश ज्वाला, प्रतिमा गौतम, प्रेम बहादुर महर्जन, बसन्त कुमार नेम्वाङ्ग, महेश बस्नेत, माधव सापकोटा, मैना कार्की, राजेन्द्र बजगाई, लालबिर चौधरी, विना लामा, शक्ति बहादुर बस्नेत, शिव नेपाली, शंकर भण्डारी, सिता गुरुङ र सुशीला श्रेष्ठ समितिमा सदस्य छन्।


