काठमाडौँ– सरकारले नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई विभाजन गर्ने विधेयक संसदमा दर्ता गराएको छ।
आइतबार संसदमा हवाई सेवा र नागरिक उड्ययन प्राधिकरणसम्बन्धी छुट्टाछुट्टै विधेयक दर्ता गराइएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रिप्रसाद पाण्डेले दुई विधेयक संसद्मा दर्ता गरेका हुन्।
नेपाल नागरिक उड्ययन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक-२०८१ र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक-२०८१ दर्ता भएको संसद सचिवालयले जानकारी दिएको छ।
यसअघि तत्कालीन मन्त्री योगेश भट्टराईले २०७६ सालमा विधेयक दर्ता गराएका थिए। २०७८ सालमा सरकारले दुवै विधेयक फिर्ता लिएको थियो।
प्राधिकरण आफैँ नियामक पनि र सेवा प्रदायक पनि बन्दा स्वार्थ बाझिएकाले कतिपय काम प्रभावकारी रूपमा सम्पादन हुन नसकेको भन्दै उड्डयनसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाले प्रश्न उठाएपछि सरकारले विधेयक दर्ता गराएको हो।
सेवा प्रदायक र नियामक निकाय एउटै भएकोलगायतका कारणले युरोपेली संघ (ईयू) ले नेपाली आकाशलाई कालोसूचीमा राखेको छ। यो विधेयक पारित भएर कार्यान्वयनमा आए युरोपेली संघले कालोसूचीबाट हटाउन मद्दत हुने सरकारको विश्वास छ।
नेपाली आकाशलाई कालोसूचीमा राखेका कारण नेपालबाट युरोपेली देशका सीधा हवाइ सम्पर्क स्थापित हुन सकेको छैन।
नेपाल नागरिक उड्ययन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक–२०८१
नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक–२०८१


