पाथीभरामा केबलकार निर्माणविरुद्ध भइरहेका विरोध र बन्दलगायतका गतिविधिप्रति निजी क्षेत्रले सरकारको ध्यानाकर्षण गराएका छन्।
निजी क्षेत्रका तीन वटा छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर्स अफ कमर्स (एनसीसी)ले साझा वक्तव्य जारी गर्दै केबलकार निर्माण परियोजनाविरुद्धका गतिविधिप्रति ध्यानाकर्षण गराएका हुन्।
तीन संगठनले विज्ञप्ति जारी गर्दै केबलकार यातायातको एउटा साधन मात्रै भएको जनाउँदै यसको निर्माणले त्यहाँको धार्मिक/सांस्कृतिक पक्षमा कुनै असर नगर्ने बरु पर्यटन प्रवर्द्धन र रोजगारीका अवसर सिर्जना गर्ने उल्लेख गरेका छन्।
‘नेपालको समग्र आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको सर्वविदितै छ। उद्योग, व्यापार, बैंकिङ, ऊर्जा, कृषि, पर्यटन, सञ्चार लगायत अन्य विभिन्न पूर्वाधार विकास तथा सेवा क्षेत्रमा निजी क्षेत्रको गरेको लगानीले देशको समृद्धिमा उल्लेखनीय योगदान पुऱ्याएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालका प्रमुख तीर्थस्थलहरूमध्ये एक पाथिभरा (मक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवर्द्धन गर्न केवलकार निर्माणको परियोजना अघि बढिरहेको सन्दर्भमा यसको विरोध गर्दै भइरहेका गतिविधि प्रति समग्र निजी क्षेत्रको गम्भीर ध्यानाकर्षण भएको छ।’
परियोजनाको विषयलाई लिएर कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको बन्द हडतालले त्यहाँको शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवन प्रभावित भएको छ।
परियोजनाले पाथिभरा (मक्कुम्लुङ) जान चाहने वृद्धवृद्धा, अशक्त बालबालिका सहित अन्य यात्रुहरूलाई सुरक्षित, छिटो र सुविधाजनक यात्रा उपलब्ध गराउने निजी क्षेत्रको भनाइ छ।
पाथीभरामा केवलकार निर्माण अपरिहार्य रहेकोमा स्थानीय तह र स्थानीय बासिन्दाहरु सहमत भएको अवस्थामा अवरोध गर्नुलाई निजी क्षेत्रले विकासका कामलाई बाधा पुर्याउने प्रयासका रुपमा निजी क्षेत्रले लिएको विज्ञप्तिमा भनिएको छ।
केवुलकार निर्माणमा विरोध हुँदा देशका अन्य भागमा हुने विकास निर्माणका कार्यलाई समेत गम्भीर असर गर्ने उनीहरूको भनाइ छ। यो समस्यालाई वार्ताबाट निकास खोज्न उनीहरूको माग छ।




