काठमाडौँ- सरकारले उपभोक्ता सरोकारसम्बन्धी मुद्दा हेर्ने उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ।
सोमबारको मन्त्रिपरिषद् बैठकले काठमाडौँ, भक्तपुर र ललितपुरमा रहेका मुद्दाहरू हेर्ने गरी उपत्यकामा उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको हो।
१२ कार्तिकमा न्यायपरिषद्ले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मालाई अध्यक्ष तोकेर उपभोक्ता अदालत गठनको सिफारिस गरेको थियो। उक्त अदालतको सदस्यमा सर्वोच्च अदालतका उपरजिष्ट्रार गेहेन्द्रराज रेग्मी रहनेछन्। उनी हाल विशेष अदालतमा छन्।
उपभोक्ता अदालतले हाललाई तीन प्रकृतिका मुद्दा हेर्नेछ- उपभोक्तालाई हानी पुगेको हकमा क्षतिपूर्तिका मुद्दा, उपभोक्ता संरक्षण ऐन बमोजिमका कसुरका मुद्दा र सरकारले तोकेका उपभोक्ता हित सरोकारका मुद्दा।
काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला अदालतमा विचाराधीन उपभोक्ता हित तथा सरोकारसँग सम्बन्धित मुद्दा पनि उपभोक्ता अदालतमा सर्नेछन्।


