काठमाडौ– ओम मेगाश्री फर्मास्यूटिकल्सले माघ २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आईपीओ निष्काशनको पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीको आईपीओमा विदेशमा रहेका नेपालीहरुले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको छ। जसमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँको १ लाख ८० हजार कित्ता सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन पाउने छन्।
कम्पनीले ५ प्रतिशत अर्थात् ९० हजार कित्ता सामूहिक लगानी कोष, ३ प्रतिशत अर्थात् ५४ हजार कित्ता कम्पनीका कर्मचारी र बाँकी १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याएको छ।
कम्पनीको आईपीओमा लगानीकर्ताहरूले अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् आईपीओमा आवेदन दिन सक्नेछन्।
