सोलुखुम्बु- सोलुखुम्बु क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फाप्लु विमानस्थलमा हवाई इन्धनको रिफ्युलिङ सेन्टर स्थापना गर्न सोलुदूधकुण्ड नगरपालिकाले पहल थालेको छ।
विमानस्थललाई जिल्लाभरकै उडानको केन्द्र बनाउनका लागि रिफ्युलिङ सेन्टर स्थापना बनाउने योजना बनाएर पहल थालिएको नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले बताए।
‘पर्यटकीय सिजनमा खुम्बु क्षेत्रको मौसम बारम्बार परिवर्तन हुँदा हवाई उडानहरू रद्द हुने समस्याले पर्यटकलाई नकारात्मक असर पुर्याइरहेको छ,’ उनले भने, ‘फाप्लुमा नियमित उडान नहुँदा तल्लो सोलुखुम्बु क्षेत्रको पर्यटन प्रभावित हुँदै आएको छ। त्यसलाई रोक्न र विमानस्थललाई जिल्लाकै पर्यटकीय हब बनाउन पनि रिफ्युलिङ सेन्टर स्थापना गर्ने कार्यमा नगरपालिकाले अगुवाइ गरेको हो।’
हाल लुक्लाका लागि रामेछापको मनथली विमानस्थलबाट उडान सञ्चालन हुने गरेको छ। यसले यात्रुहरूलाई समय र अतिरिक्त लागतको समस्या सिर्जना गर्दै आएको छ।
नगर प्रमुख शेर्पाका अनुसार नेपाल आयल निगम र विभिन्न एयरलाइन्सहरूसँग समन्वय गरी फाप्लु विमानस्थलमा हवाई इन्धन रिफ्युलिंग सेन्टर स्थापना गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए।
फाप्लु विमानस्थलमा रिफ्युलिङ सेन्टर स्थापना भए काठमाडौँ-फाप्लु र फाप्लु-लुक्ला सिधा उडान सञ्चालन गर्न सकिनेछ। यसले पर्यटनलाई प्रवर्द्धन गर्नुका साथै आकस्मिक उद्धारमा पनि ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ। स्थानीय पर्यटन व्यवसायीहरूले पनि नगरको योजनालाई साथ दिएका छन्।


