काठमाडौँ – मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) ले आफूहरू सनातनी हिन्दु धर्मविरोधी नभएको भन्दै प्रस्टीकरण दिएका छन्।
सामाजिक सञ्जालमा दुवैजना देखिएको एक भिडियोमा महजोडीले अमेरिकी सहयोग यूएसएडको पैसा खाएर भिडियो बनाएको भन्ने आरोप अनर्गल रहेको स्पष्ट पारेका हुन्।
‘हिजोआज सामाजिक सञ्जालहरूमा मह जोडीले यूएसएडको पैसा लिएर धर्मविरोधी कामहरू कुराहरू प्रचार गर्दै हिँड्यो भनेर अनर्गल प्रचार भइरहेको छ, त्यसले हामीलाई एकदमै चित्त दुखेको छ,’ श्रेष्ठले भिडियोमा भनेका छन्। आफ्ना हितैषीहरूबाटै यस्तो आरोप सुन्नुपर्दा चित्त दुखेको उनले बताए ।
आफूहरूले राम्रा कुराहरू मात्र छानेर काम गर्दै आइरहेको बताएका श्रेष्ठले कुष्ठरोग, क्षयरोग र खोपसम्बन्धी भिडियोहरू बनाएर जनचेतना फैलाएको बताए। यस्ता कामलाई अधर्म कुराहरू नभन्न पनि उनले आग्रह गरे। साथै आफूहरूले बनाएका टेलिफिल्महरू हेरेर जाँच्न पनि उनले अनुरोध गरे। भने, ‘हामीले नचाइने कुरा बोलेका छैनौँ।’
त्यस्तै हरिवंश आचार्यले यूसएडबाट धर्म प्रचार गरिएको भन्ने दाबी झुटो रहेको र सनातन हिन्दुधर्मको विरोध कहिल्यै पनि नगरेको बताएका छन्। ‘यो अनर्गल प्रचार हो’, उनले भने, ‘५२ सालमा पञ्चायत व्यवस्थाको सराद्दे गरेको टेलिफिल्म बनाएका थियौँ, तर त्यसमा पात्रको प्रवृत्तिको मात्र व्यंग्य गरिएको हो।’
पण्डित भन्दैमा भगवान् नहुने भन्दै उनले आफू पनि पण्डितकै छोरो भएको बताए । ‘व्यंग्य नेतालाई पनि गर्न पाइन्छ। पण्डितलाई पनि गर्न पाइन्छ। पुलिस, डाक्टर, वकिल सबैलाई गर्न पाइन्छ,’ उनले बताए ।
केही दिनयता मह जोडीको पुरानो भिडियोको टुक्रा राखेर सामाजिक सञ्जालहरूमा सनातन हिन्दु धर्मको विरोध गरेको भन्दै चर्को आलोचना भइरहेको छ। उक्त अवस्था आएपछि मह जोडीले यसबारे स्पष्टीकरण दिएका हुन्।
