काठमाडौँ- युरोपेली विमान उत्पादक कम्पनी एयरबसका हेलिकोप्टरको आयातमा प्रतिबन्ध लगाउने निर्णयबाट नेपाल नागरिक उड्डयन प्राधिकरण पछि हटेको छ।
बिहीवार प्राधिकरणले सुरक्षा चुनौती बढाएको आरोप लगाउँदै एयरबसका हेलिकोप्टर आयात गर्न रोक लगाउने निर्णय गरेपनि विरोध भएपछि पछि हटेको हो।
हेलिकप्टर कम्पनीको असहमतिका बीच प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी आफ्नै निर्णयबाट पछि हट्नु परेको हो। प्राधिकरणले भने युरोपेली हेलिकप्टर/वायुयान आयातमा प्रतिबन्ध लगाउने कुनै निर्णय नभएको दाबी गरेको छ।
‘विश्वभरका सुरक्षित वायुयान निर्माता कम्पनीहरुलाई नेपालमा खुला र समान अवसर प्रदान गर्ने सम्बन्धमा भएको छलफलको तथ्य विपरीत, सञ्चार माध्यममा आएका नेपालमा युरोपेली हेलिकप्टर/वायुयान आयातमा प्रतिबन्ध सम्बन्धित समाचारका सम्बन्धमा कुनै पनि आधिकारिक निर्णय नभएको व्यहोरा अनुरोध छ,’ प्राधिकरणको अकाउन्टबाट सामाजिक सञ्जालमा पोस्ट गरिएको छ।
ईयूले नेपाललाई कालोसूचीमा राखेको भन्दै प्राधिकरण र महानिर्देशक प्रदीप अधिकारीले असन्तुष्टि जनाउँदै आएका थिए। नेपालको हवाई सुरक्षामा सुधार आएको दाबी अधिकारीले गर्दै आएका थिए।
तर कालोसूचीबाट हटाउन ईयू तयार नभएपछि नागरिक उड्डयनमन्त्री बद्रि पाण्डेले प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुई वटा निकाय बनाउनका लागि संसदमा विधेयक दर्ता गराइसकेका छन्। विधेयक पारित भएपछि ईयूले नेपाललाई कालोसूचीबाट हटाउने अपेक्षा गरिएको छ।
