काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले पाको पुस्ताले नै निराशाको व्यापार गरिरहेको टिप्पणी गरेका छन्। नेपाल-अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्बोधन गर्दै मन्त्री पाण्डेले नयाँ पुस्तालाई आशा र सकारात्मकताको सन्देश दिनुपर्ने बताएका हुन्।
‘अहिले पाको पुस्ताले नै निराशाको व्यापार गर्न थालेको छ। यस्तो अवस्थामा नयाँ पुस्तालाई हामीले के सिकाउने? हामीले आशा सञ्चार गर्नुपर्छ,’ उनले भने।
मन्त्री पाण्डेले चलचित्रलाई मानिसलाई प्रभाव पार्न सक्ने अद्भुत माध्यमको रूपमा उल्लेख गरे। ‘अहिले पाको पुस्ताले नै निराशाको व्यापार गर्न थालेको छ। यस्तो अवस्थामा नयाँ पुस्तालाई हामीले के सिकाउने? हामीले आशा सञ्चार गर्नुपर्छ,’ उनले भने।
चलचित्रले समाजमा सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिँदै उनले भने, ‘दुनियाले सत्यको जित चाहिरहेको छ र चलचित्रमार्फत समाजलाई ठूलो प्रभाव पार्न सकिन्छ।’ उनले चलचित्र र कलाले भाषा नबुझेर पनि भावनाहरू व्यक्त गर्न सक्ने क्षमताको चर्चा गरे। ‘कला कलाको कुनै भाषा हुँदैन। भाषा नबुझेर पनि भावनाहरू महसुस गर्न सकिन्छ,’ उनले बताए।
समारोहमा प्रस्तुत गीतसंगीत र नाटकको चर्चा गर्दै मन्त्री पाण्डेले कर्णालीको परिवेशमा आधारित नाटकलाई सम्झिए। साथै, उनले नयाँ पुस्तालाई आशावादी बनाउनुपर्नेमा जोड दिए।
नेपाली चलचित्र उद्योगमा गुणात्मक सुधार आएको बताउँदै उनले नेपालमा अर्बौं कमाइ गर्न सक्ने चलचित्र बनाउन सकिने सम्भावना रहेको बताए। ‘अर्ब कमाउन सक्ने दर्जनौं चलचित्र बनाउन सकिन्छ। यसले देशको अर्थतन्त्रलाई बलियो बनाउन योगदान गर्छ,’ उनले भने।
नेपाललाई खुला संग्रहालयको संज्ञा दिँदै उनले विदेशी चलचित्र निर्माणका सम्भावनाहरूको सदुपयोग गर्नुपर्ने उल्लेख गरे। ‘नेपालको विविधतापूर्ण संस्कृतिलाई प्रवर्द्धन गर्दै विदेशी चलचित्रलाई नेपालमा छायांकन गर्न प्रोत्साहित गर्नुपर्छ,’ मन्त्री पाण्डेले बताए।
पर्यटन प्रवर्द्धनमा चलचित्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले भने, ‘चलचित्रमार्फत नेपालका प्राकृतिक सौन्दर्य, संस्कृति र सम्पदालाई विश्वभर चिनाउन सकिन्छ।’ साथै, उनले नेपाल सरकार चलचित्र निर्माणका लागि आवश्यक नीति तथा पूर्वाधार विकास गर्न तयार रहेको जानकारी दिए।
समारोहमा विभिन्न देशका फिल्म निर्माता, कलाकार र कलाप्रेमीहरूको सहभागिता रहेको थियो। महोत्सवले नेपाल र अफ्रिकी देशहरूबीच सांस्कृतिक आदानप्रदानलाई थप प्रगाढ बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
