काठमाडौँ – ‘बाधा तोड्दै – जीवन रूपान्तरण गर्दै’ भन्ने नाराका साथ जोन्टा काठमाडौं क्षेत्र–२ को पहिलो क्षेत्रीय बैठक सम्पन्न भएको छ। बैठकमा बंगलादेशबाट २२ र नेपालबाट ५६ भन्दा बढी जोन्टियनहरूको उपस्थिति रहेको थियो।
बैठकले महिला तथा किशोरीको सशक्तीकरण, शिक्षा, र वकालतप्रति जोन्टाको मूल्यमान्यता उजागर गरेको छ।क्षेत्रीय निर्देशक जोन्टियन मीरा ज्योतिले बैठकको अध्यक्षता गरेकी थिइन्।
सहभागी क्लबहरूले आफ्ना गतिविधिहरूको समीक्षा गर्दै सार्थक परिवर्तनका लागि प्रतिबद्धता दोहोर्याएका छन्। साथै, जोन्टा इन्टरनेसनलको जलवायु न्याय लक्ष्यलाई समर्थन गर्दै दिगो कार्य र वातावरणीय उत्तरदायित्वको महत्त्वलाई उजागर गरिएको छ। भविष्यका पुस्ताहरूको सुरक्षाका लागि महिलाको महत्त्वपूर्ण भूमिकालाई पनि बैठकमा स्वीकार गरिको छ।
बैठकमा तत्कालीन जिल्ला गभर्नर जोन्टियन श्रीजना राणा, जिल्ला कोषाध्यक्ष जोन्टियन खादिजा अफजल, जिल्ला सचिव जोन्टियन अनिजा चौधरी, उपक्षेत्र २ निर्देशक जोन्टियन जाहिदा खातुन, साथै जिल्ला २५ का विभिन्न समिति अध्यक्ष, सह-अध्यक्ष, र क्लब अध्यक्षहरूको उपस्थिति थियो।
कार्यक्रममा जोन्टा क्लब काठमाडौंकी मनषी पण्डितलाई जोन्टा इन्टरनेसनल जेन एम. क्लाउस्मान विमेन इन बिजनेस छात्रवृत्ति प्रदान गरिएको छ।


