काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले आगामी दिनमा चीनबाट अझ धेरै पर्यटकको आगमन हुने र त्यसले नेपाल–चीन सम्बन्ध जनस्तरमा विस्तार हुने विश्वास व्यक्त गरेका छन्। नेपाल भ्रमणमा रहेका चिनियाँ जातीय मामिलामन्त्री पेन यू नेतृत्वको प्रतिनिधि मण्डलसँग सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटमा यस्तो बताएका हुन्।
चिनियाँ टोलीलाई स्वागत गर्नुहुँदै मन्त्री पाण्डेले सन् १९५५ मा स्थापित कूटनीतिक सम्बन्धले यस वर्ष ७०औँ वर्ष पूरा गर्न लागेकोमा प्रति खुसी व्यक्त गरे।
‘यहाँहरूको नेपाल भ्रमणबाट दुई देशको आपसी हितका साथै दुई देशका मन्त्रालयबीचको सहयोगको आदानप्रदान हुने विश्वास मैले लिएको छु,’ उनले भनेका थिए, ‘आगामी दिनमा नेपाल आउने पर्यटकको संख्या अझ बढ्ने हो भने दुई देशबीचको सम्बन्ध जनस्तरसम्म विस्तार हुनेछ।’
नेपालको पर्यटनको विकासका लागि चिनियाँ राजदूतसँग पटकपटक छलफल गरेको उनले चिनियाँ मन्त्रीलाई सुनाएका थिए। ‘चीन सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको छ, म त्यसका सराहना गर्दछु,’ उनले भने।
नेपाल एयरलाइन्सले गोन्जाउमा र हिमालय एयरलाइन्सले पोखरादेखि ल्हासासम्मको उडान गर्ने तयारी गरिरहेको उनले मन्त्रीलाई सुनाएका थिए। उनले नेपालको भाषा, संस्कृति, कलाका बारेमा अध्ययन गर्नका लागि समेत चिनियाँहरूलाई आह्वान समेत गरे।
चिनियाँ मन्त्री पेन यूले यसअघि दुई देशका राष्ट्राध्यक्षबीच भएको सम्झौतालाई कार्यान्वयन गर्दै जानु पर्नेमा जोड दिए। नेपाल गौतम बुद्धको जन्मस्थल भएको उल्लेख गर्दै उनले चीनमा १० करोडभन्दा बढी बुद्ध धर्म मान्नेरहेको उल्लेख गरे। उनले आफ्नो मन्त्रालय मातहतमा ३० वटा विश्वविद्यालय रहेको उल्लेख गर्दै एउटा विश्व विद्यालयलाई नेपालको सांस्कृतिक महोत्सवका बारेमा बुझ्न पठाउनेसमेत प्रतिबद्धता व्यक्त गरेका थिए।


