काठमाडौँ- ग्यासको भाउ बढाउन सफल भएपछि उद्योगीले आन्दोलन स्थगित गरेका छन्।
एलपी ग्यास उद्योगीको माग अनुसार सरकार मूल्य बढाउन सहमत भएपछि उद्योगीले आन्दोलन रोक्ने निर्णय लिएका हुन्।
उद्योगीको माग अनुसार अब एक सिलिन्डर ग्यासमा १२ रुपैयाँ ७५ पैसा मूल्य बढ्ने भएको छ। नेपाल एलपी ग्यास उत्पादक संघका वरिष्ठ उपाध्यक्ष कृष्णभक्त श्रेष्ठले आन्दोलन फिर्ता लिन आफूहरू सहमत भएको जानकारी दिए।
सरकारका तर्फबाट वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले उद्योगीको माग अनुसार ग्यासको मूल्य बढाउन सहमति गरेका हुन्।
योसँगै अब एक सिलिन्डर ग्यासको मूल्य १ हजार ९२३ रुपैयाँ पुग्ने भएको छ। यसअघि एक हजार ९१० रुपैयाँमा ग्यास बिक्री हुने गरेको थियो।
