महोत्तरी- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिजको उद्घाटन गरेका छन्।
महोत्तरीको गौशाला नगरपालिका-१ रामनगरमा स्थापित उद्योग प्रधानमन्त्री ओलीले बिहीवार उद्घाटन गरेका हुन्।
प्रधानमन्त्री ओलीले उद्योग स्थापनाले चुलो चौकोमा सीमित रहनेहरुका लागि पनि सीपका साथै रोजगारी सृजना गर्ने बताए।
उनले आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यसले योगदान दिइ आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयासबिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेकोले औद्योगिक विकास र रोजगारी सृजनामा प्राथमिकता दिइने जनाए।
‘अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन। सहकार्यका माध्यमबाट युवाहरूले आपको खेती विकास गर्न सक्छन्। यसमा प्रदेश सरकारहरु पनि अघि सरुन्,’ उनले भने।
आइएमई ग्रुपको लगानीमा उद्योग स्थापना भएसँगै नेपालमा पहिलो पटक नष्ट भएका कागजबाट नयाँ कागज उत्पादन भई आयात कम गर्न सहयोग पुग्नेछ।
उद्योगले करिब तीन सयको रोजगारी दिनेछ। नेपालमा वार्षिक करिब डेड लाख मेट्रिक टन कागज खपत हुने गरेको छ।
