काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतमा नेपालमा हिन्दुहरूको राजा नभएको भनेर चिन्ता प्रकट गर्नुभन्दा भारतमा नै हिन्दु धर्मावलम्वी राजा र महाराजाहरूलाई पुनर्स्थापित गर्दा हुने सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमा महासचिव पोखरेलले नेपालमा हिन्दुराजाको आवश्यकताको चर्चा गरिरहेका भारतीय नेता, धर्मगुरु र प्रशासकहरूलाई कटाक्ष गर्दै भारतमै हिन्दु धर्मावलम्वी राजा र महाराजाहरूलाई पुनर्स्थापित गर्दा हुने सुझाव दिएका हुन् । तर भारतको संविधानले त्यसो गर्न नदिने भएकाले नेपालको हकमा पनि उस्तै भएको उनले लेखेका छन्।
‘ब्रिटिसहरूले भारतमा उपनिवेश चलाइरहँदा ५५० भन्दा बढी रियासतहरूलाई आफ्नो अधिनमा राखेका थिए । तिनिहरूमा अधिकांशमा राजा, नवाव र महाराजाहरू थिए । त्यसमध्ये अधिकांश हिन्दु थिए । जसलाई विष्णुको अवतारका रुपमा मान्ने संस्कृती पनि थियो । सरदार वल्लवभाई पटेलले भारतिय स्वतन्त्रता पछि ती रियासतहरूलाई अन्त्य गरेका थिए,’ उनले भारतीय इतिहास उल्लेख गरे ।
