काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोर्चुगलका पर्यटन प्रवर्द्धकको जिम्मेवारीबाट रमेशराज बास्तोलालाई हटाएको छ।
मन्त्रालयका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले उनलाई पपर्यटन प्रवर्द्धकको जिम्मेवारीबाट हटाइएको जानकारी दिएका हुन्।
बास्तोला २०८० फागुन १२ गते पोर्चुगलका लागि पर्यटन प्रवर्द्धकमा नियुक्त भएका थिए। पर्यटन प्रवर्द्धकको कार्यकाल दुई वर्षको हुने पर्यटनसम्बन्धी कार्यविधि, २०७९मा व्यवस्था छ।
बास्तोलाले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएकोले उनलाई जिम्मेवारीबाट हटाइएको उपाध्यायले जानकारी दिए।

मन्त्रालयले पर्यटन प्रवर्द्धकको जिम्मेवारीबाट हटाएको विषयमा बास्तोलाले भने मन्त्रालय, मन्त्री र कर्मचारीले आफ्नो कर्तव्य मात्र पूरा गरेको बताएका छन्।
‘उनीहरुले आफ्नो कर्तव्य निभाएका हुन्। मैले पहिल्यै तिम्रो पद तिमी राख भनिदिएको थियो,’ उनले नेपाल क्लिक्ससँग भने, ‘म राजावादी हुँ। कुरा त्यही हो।’
आफूले पूर्वराजा र धर्मको समर्थन गर्दा अहिलेको सरकारको निदहराम भएको उनको भनाइ छ। ‘मलाई तिमीहरुको कागजी पदको कुनै वाल मतलव नै थिएन। तिमीहरुको गणतन्त्रेको के नै काम छ र? तिम्रो पदभन्दा राजा र धर्म मेरो लागि ठूलो हो।’
फागुन २५ गते पोर्चुगलका लागि पर्यटन प्रवर्द्धक बास्तोलालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। पूर्वराजालाई ‘श्री ५’ भनेर सरकारको निशाना छाप र लेटरप्याड दुरुपयोग गरेको आरोपमा उनलाई मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। उक्त विषय सावर्जनिक हुने बित्तिकै बास्तोलाले फेसबुकबाटै स्पष्टीकरण दिएका थिए।
‘देशमा संवैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्र अहिलेको आवश्यककता हो। म देशमा राजसंस्थाको पक्षधर हो। राजा र धर्मको समर्थन गर्दा तिमीहरूलाई आपत्ति छ भने तिम्रो पद तिमी नै राख,’ फेसबुकबाट नै सरकारलाई दिएको उनको स्पष्टीकरणमा लेखिएको छ, ‘जुन दिन देशमा राजतन्त्र आउने छ, फेरि त्यति वेला जिम्मेवारी लिउँला। तिमीहरुको भ्रष्टको सरकारमा यो कागजी पदमा बस्न मलाई चाहना छैन। मेरो स्पष्टीकरण यही हो।’
उनले आफूले पर्यटन प्रवर्द्धक भएबापत कुनै पनि सुविधा नलिएको बरु आफैले थुप्रै खर्च गरेर काम गर्नुपरेको पनि उनको स्पष्टीकरणमा उल्लेख छ।
‘यो पद लिएवापत मैले सरकारको १ रुपयाँ लिएको पनि छैन। कुनै एक रुपयाँ लाभ लियको पनि छैन। बरु आफ्नै खर्चमा यहाँ पोस्टर बनायर हुन्छ कि एअरपोर् मा चर्को लगेजको मूल्य तिरेर पोस्टर ल्यायर हुन्छ, प्रचार गरेको छु।’
पूर्वराजा ज्ञानेन्द्र शाहलाई श्री ५ को सम्बोधन गर्दै उनको शुभकामना सन्देशलाई स्वागत तथा एक्यबद्धता जनाएको भन्दै मन्त्रालयले बास्तोलालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो।
‘उक्त सम्बन्धमा गैरजिम्मेवारपूर्ण कार्य गरेबापत पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि, २०७९ को दफा ५ बमोजिम निजलाई पर्यटन प्रवर्द्धकको जिम्मेवारीबाट तत्काल नहटाउनुपर्ने कुनै कारण भए २४ (चौविस) घण्टाभित्र यस मन्त्रालयमा लिखित स्पष्टीकरण पेस गर्न निर्देशन गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ मन्त्रालयले सोधेको स्पष्टीकरणमा जनाइएको छ।

मन्त्रालयले बास्तोलाको उक्त कार्य पदीय जिम्मेवारीविपरीत भएको ठहर गरेको छ। सरकारी लोगो तथा लेटरप्याडको समेत दुरुपयोग गरेकाले मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बास्तोलाले नेपाल सरकारको लोगो अंकित कार्यालयको लेटरहेडमै पूर्वराजा ज्ञानेन्द्रलाई श्री ५ सम्बोधन गरी उनको अभिव्यक्तिलाई समर्थन गरेका थिए। साथै उनले उक्त पत्र आफ्नो फेसबुकमा आइतबार राखेका थिए।



