काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आफ्नो अभिव्यक्तिप्रति माफी मागेका छन्। तीन दिनअघि प्रतिनिधि सभामा यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिप्रति उनले बुधबारको प्रतिनिधि सभा बैठकबाटै माफी मागेका हुन्।
‘मैले व्यक्त गरेको धारणा एउटा सांसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणाहरु हुन्। यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा होइन,’ उनले भने, ‘यी विचारहरुले सम्मानित संसद्का सदस्यहरु एवम् अन्य जनसमुदायमासमेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरुको सम्मान गर्दै उहाँहरुसँग क्षमायाचना गर्दछु।’
चैत ३ गते घिमिरेले संसद्को विशेष समयमा बोल्दै नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए। उनको यो अभिव्यक्तिको संसद् भित्र र बाहिर व्यापक आलोचना भएको थियो। उनकै पार्टी कांग्रेसले पनि उनको आलोचना गरेको थियो।
