काठमाडौँ- चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ६ खर्ब २३ अर्ब ८९ करोड रुपैयाँ बराबरको नेपाली मुद्रा चलनचल्तीमा रहेको देखिएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
गत वर्षको यसै अवधिमा ६ खर्ब १२ अर्ब नेपाली मुद्रा चलनचल्तीमा रहेको थियो। गत वर्षको तुलनामा ११ अर्ब ८९ करोडले प्रदाय बढेको छ। हाल नेपालमा ५, १०, ५०, १००, ५०० र १००० का नोटहरु तथा सिक्काहरु चलनचल्तीमा छन्।
हाल बैंक तथा वित्तीय संस्थाहरुमा ५४ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने करिब ४८ अर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। कुल निक्षेपको तुलनामा बजारमा रहेको चलनचल्तीमा मुद्राको अनुपात ११.३४ प्रतिशत हो। राष्ट्र बैंकभन्दा बाहिर रहेको मुद्रालाई चलनचल्तीमा रहेको नगदको रुपमा बुझिन्छ।
यस्तो नगदको ठूलो हिस्सा बैंक तथा वित्तीय संस्था, विभिन्न संघ संस्था, कम्पनी, व्यवसाय तथा व्यक्तिसँग हुने गर्दछ। नोट जारी गर्ने तथा नियमन गर्ने काम नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले गर्दछ। यस विभागले जारी गरेका नगद राष्ट्र बैंकको बैंकिङ विभागमा भएमा त्यसलाई चलनचल्तीको मुद्रा भन्न मिल्दैन।
समान्यतया चलनचल्तीमा रहेको मुद्रालाई मुलुकको आर्थिक गतिविधिको विस्तारसँग जोडेर हेर्ने गरिन्छ। यद्यपि पछिल्लो समय नगदको ठुलो हिस्सा बैंकिङ प्रणालीभित्रै रहने तथा डिजिटल भुक्तानीमा भएको बृद्धिले नगदमा आधारित अर्थतन्त्रको बृद्धि तथा विस्तार यकिन गर्न कठिन रहेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्।
