काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने आगजनीमा ज्यान गुमाएका पत्रकार सुरेश रजकका परिवारलाई भेटेका छन्।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा उनले अराजक समूहको आगजनीका कारण ज्यान गुमाएका रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारलाई समवेदना प्रकट गरे। उनले घटनाको छानबिन भइरहेको र दोषीमाथि कडा कारबाही गरिने बताए।
प्रधानमन्त्री ओलीले मृतकको दाहसंस्कार गर्न परिवारलाई आग्रह गर्दै सुरेशकी श्रीमती सुजन रजकलाई रोजगारीसहित आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको समन्वयमा भएको सो भेटमा सुरेशका दाजुहरू रमेश रजक र दिनेश रजकसहित परिवारका सदस्यहरू सहभागी थिए।
