काठमाडौँ: चालू आर्थिक वर्षको तीन महिनामा विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशत बढेको छ। गत साउनदेखि असोजसम्म २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँबराबर कुल विदेशी विनिमय सञ्चिति रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
गत असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर विदेशी विनिमय सञ्चिति थियो।
अमेरिकी डलरमा यस्तो सञ्चिति ८.७ प्रतिशत बढेर २१ अर्ब २१ करोड डलर पुगेको छ। गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेको थियो।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा गत असोज मसान्तमा १०.५ प्रतिशत वृद्धि भई २६ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।
बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा दुई खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेकोमा २०८२ असोज मसान्तमा १८.७ प्रतिशत वृद्धि भई तीन खर्ब १२ अर्ब १० करोड कायम भएको छ।
असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०८२/०८३ को तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु आयात र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। २०८२ असोज मसान्तमा विदेशी विनिमय सञ्चिति कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ४८.८ प्रतिशत पुगेको छ।
यस्तै कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः १३६.६ र ३६.८ प्रतिशत रहेका छन्।


