काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत बहुर्राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी छ।आइतबारको कारोबारअघि कम्पनीको प्रतिकित्ता शेयर मूल्य ४६ हजार ५०० रुपैयाँ पुगेको छ। केही समयअघि यसको शेयर मूल्य ४८ हजार रुपैयाँ रहेको थियो।
युनिलिभरको उच्च शेयर मूल्य मात्र हैन शेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको शेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्सेनि वितरण हुने आकर्षक नगद लाभांश हो। कम्पनीका शेयरधनीहरूले हरेक वर्ष आकर्षक लाभांश पाउँदा शेयरमा लगानी गर्ने उत्साह बढेको छ। दोस्रो कारण बजारमा शेयरको कम उपलब्धता हो। कम्पनीका अधिकांश शेयर संस्थापक समूहकै नाममा भएका कारण दोस्रो बजारमा थोरै मात्र शेयर खरिद–बिक्री हुने गर्छ, जसले शेयर मूल्यमा स्थिरता र उच्च मूल्य कायम राख्न मद्दत पुर्याएको छ।
युनिलिभरले अन्य धेरै कम्पनीहरूजस्तै बोनस शेयर वितरण नगरी नगद लाभांशमा जोड दिँदै आएको छ। यसै कारण कम्पनीले विगत पाँच वर्षमा आफ्ना शेयरधनीहरूलाई आकर्षक नगद लाभांश वितरण गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा युनिलिभरले प्रतिकित्ता १८ सय ४२ रुपैयाँ नगद लाभांश वितरण गरेको छ, जुन अहिलेसम्मकै उच्चतम् हो।
पाँच वर्षमा युनिलिभरको लाभांशको अवस्था
आर्थिक वर्ष २०७७/७८ मा प्रतिकित्ता ६५० रुपैयाँ, २०७८/७९ मा १२ सय १५ रुपैयाँ, २०७९/८० मा १५ सय ८० रुपैयाँ, २०८०/८१ मा १७ सय १४ रुपैयाँ, र २०८१/८२ मा १८ सय ४२ रुपैयाँ रहेको छ। कम्पनीले पाँच वर्षभन्दा पुरानो लाभांश लिन बाँकी रहेका शेयरधनीलाई पनि तुरुन्त लिन आग्रह गरेको छ।
यद्यपि, कम्पनीको हालको नाफामा कमी आएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक विवरणअनुसार कम्पनीको खुद नाफा ३० करोड रुपैयाँमा झरेको छ, जुन गत वर्षको समान अवधिको ५२ करोड ६९ लाख भन्दा करिब ४३ प्रतिशत कम हो। नाफा घट्नुको मुख्य कारण बिक्री र सञ्चालन आम्दानीमा आएको गिरावट हो। गत वर्षको पहिलो त्रैमासमा कम्पनीको आम्दानी २ अर्ब २५ करोड रुपैयाँ रहेकोमा अहिले घटेर २ अर्ब रुपैयाँमा सीमित भएको छ।
उता, कम्पनीको खर्च भने सामान्य रूपमा बढेको छ। अघिल्लो वर्ष खर्च १ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब ६६ करोड पुगेको छ। नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ। पहिलो त्रैमासमा प्रतिशेयर आम्दानी (ईपीएस) ३२६ रुपैयाँ छ भने वार्षिक ईपीएस १,८८४ रुपैयाँ रहेको छ। जुन गत वर्षको यसै अवधिमा २,०९६ रुपैयाँ थियो।
युनिलिभर नेपाल सन् १९९२ देखि नेपालमा उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी हो। कम्पनीको मूल संरचना युनिलिभर नेदरल्यान्ड र यूकेमा रहेको छ र नेपालस्थित व्यवसायमा हिन्दुस्तान युनिलिभर इन्डिया ले करिब ८० प्रतिशत लगानी गरेको छ। युनिलिभरमा नेपाली साझेदार व्यवसायी रविभक्त श्रेष्ठको पाँच प्रतिशत स्वामित्व छ।
कम्पनीसँग १७ प्रमुख ब्रान्ड छन्, जसमा कपाल, छाला, मुख–दाँतको हेरचाह तथा घर सफा गर्ने सामग्रीहरू पर्छन्। वार्षिक उत्पादन करिब २७ हजार मेट्रिक टन रहेको छ र ती सामान ५० हजारभन्दा बढी पसल तथा डिजिटल माध्यम मार्फत नेपालभरि उपलब्ध गराइन्छ।
नेपाल स्टक एक्सचेन्जमा सूचिकृत कम्पनीहरूमध्ये युनिलिभर नेपाल सबैभन्दा महँगो शेयर मूल्य भएको कम्पनी हो। कुल सूचिकृत शेयर संख्या ९ लाख २० हजार ७०० कित्ता रहेको छ। जसमा ८० प्रतिशत प्रमोटर समूह र १५ प्रतिशत सर्वसाधारणको नाममा छ। थोरै शेयर मात्र बजारमा उपलब्ध हुँदा कारोबार संख्या न्यून रहन्छ र मूल्यमा ठूलो उतारचढाव देखिँदैन।
बलियो व्यवस्थापन, स्थिर प्रतिफल, र लगानी सुरक्षित हुने विश्वासले कम्पनीलाई ब्लूचिप कम्पनी को रूपमा चिनाएको छ। युनिलिभर नेपालका शेयरधनीहरूले उच्च लाभांश र दीर्घकालीन लगानी सुनिश्चित हुने भएकाले यस कम्पनीको शेयरमा लगानी गर्न आकर्षण कायम छ।


