विगत केही समययता पुँजी बजारको प्रवृत्ति नियाल्दा धेरै लगानीकर्ताको मनमा एउटै प्रश्न खेलिरहेको छ— के साँच्चै हामी ‘बुल मार्केट’ मै छौँ त?
नेप्से लामो समयसम्म एक हजार ८०० देखि दुई हजार २०० विन्दुको साँघुरो दायरा (साइडवेज) मा रुमल्लिँदा धेरैलाई बजार ‘मृत’ जस्तै लागेको थियो। तर, त्यही शान्त र उपेक्षित अवधिमा केही उपसूचक र कम्पनीहरूको मूल्य भने चुपचाप दोब्बर–तेब्बर भैसकेका थिए। वास्तविकता के हो भने, ‘बुल’ सधैँ सूचकांकको हल्लाबाट होइन, मूल्य र धैर्यबाट आउँछ। यो आधारभूत सत्य बुझ्न नयाँ पुस्ताका लगानीकर्तालाई केही समय लाग्यो।
त्यसपछि नेप्सेले गति लिँदै २२०० बाट छोटो समयमै तीन हजार विन्दुनजिक पुग्दा धेरैलाई बजारमा जादूको छडी चलेजस्तो लाग्यो। तर यो अचानक भएको चमात्कार थिएन। बजारले विगत दुई वर्षदेखि एक हजार ८०० देखि दुई हजार २०० को तहमा बलियो आधार तयार गरिसकेको थियो। डर र उपेक्षाबीच संचित भएको विश्वास एकैचोटी विस्फोट हुँदा सूचकांकले तीव्र गति लिएका हुन्। जसमा नेपाल राष्ट्र बैंकको बजारमैत्री नीतिले आगोमा घिउ थप्ने काम गर्यो।
आजको सूचकांक हेर्दा हामी अझैँ उच्चतम विन्दु (३२००) भन्दा मुनि नै छौँ। तर कतिपय कम्पनीको मूल्य ४–५ गुणासम्म बढिसकेको छ। यसले एउटा स्पष्ट संकेत दिन्छ— बुल सूचकांकमा ढिलो देखिन सक्छ, तर कम्पनीको मूल्य धेरै अघिदेखि नै प्रविष्ट भैसकेको हुन्छ।
अहिले बजारमा देखिएको मुख्य समस्या सूचकांकको होइन, आत्मविश्वास अभावको हो। कारोबार रकम घट्दा, सूचकांक केही विन्दु तल झर्दा वा नीतिगत अन्योल देखिँदा हामी तुरुन्तै निष्कर्ष निकाल्छौँ— ‘बुल’ सकियो।
तर बजारको स्वभाव कहिल्यै सिधा रेखामा चल्दैन।
सुधार, विश्राम र शक्ति सञ्चय दीर्घकालीन उकालो यात्राका अनिवार्य चरणहरू हुन्। आज देखिएको थकान यात्राको अन्त्य होइन, अर्को चरणको तयारी पनि हुन सक्छ भन्ने बुझाइ लगानीकर्तामा आवश्यक छ।
अर्कोतर्फ, अहिलेको बजार अघिल्ला चक्रभन्दा फरक छ। लगानीकर्ताको संरचना बदलिएको छ। सूचना छिटो फैलिन्छ, वित्तीय साक्षरता बढ्दैछ, र कम्पनीहरूको आधारभूत पक्षप्रति आम लगानीकर्ताको चासो विस्तारै बलियो बन्दै गएको छ। पहिले प्रायः सबै कम्पनीकाको मूल्यमा आएको वृद्धि, निरन्तर सकारात्मक देखिएका परिसूचक आदिलाई बुल मानिन्थ्यो। तर अब त्यो अवस्था नहुन पनि सक्छ।
त्यसैले आजको बजारलाई केबल ‘पर्ख र हेर’ को अवस्थामा राख्नु गलत हुन सक्छ। यो समय आफ्नो रणनीति पुनःसमिक्षा गर्ने, जोखिम व्यवस्थापन बुझ्ने, भावनात्मक होइन, विवेकपूर्ण निर्णय लिन सिक्ने हो।
बुल सधैं हल्ला गर्दै आउँदैन। धेरैपटक त उसले ढोका ढक्ढकाइसक्दा पनि हामी डरले झ्यालबाट मात्र हेरेर बसिरहेका हुन्छौँ। आजको मौनता भोलिको कोलाहलको पूर्वसंकेत पनि हुन सक्छ।
इतिहास हेर्दा पनि नेपालको पुँजी बजारका पछिल्ला बुल सहज समयमा जन्मिएका छैनन्। भूकम्पजस्तो राष्ट्रिय विपत्ति होस् वा कोभिड महामारी नै किन नहोस्, कठिन घडीमै बुल मार्केटको बीउ रोपिन्छ, जसरी चट्टान फोरेर पिपल उम्रिन्छ।
अहिले जेन्जी आन्दोलनपछि रुमल्लिएको बजारमा पनि आगामी निर्वाचन, त्यसले ल्याउने राजनीतिक स्थिरता र नीतिगत स्पष्टता देखिन सके लगानीकर्ताले फेरि नयाँ बुलको जन्म गराउने सम्भावना असान्दर्भिक छैन। त्यसमा अर्थमन्त्रालय, राष्ट्र बैंकजस्ता सरकारी संस्थाको नीतिगत भूमिका र सदासयता महत्वपूर्ण रहनेछ।


