पोखरा– विश्व रामसार सूचीमा सूचीकृत फेवातालको सिमसार क्षेत्र पुरेर बनाइएका २७० भन्दा बढी घडेरीका जग्गामा पोखरा महानगरपालिकाले डोजर लगाएर भत्काइदिएको छ। पोखरा-२४ पामेक्षेत्रको करिब ९० रोपनी सिमसार पुरेर अनधिकृत रूपमा बनाइएका ती प्लटिङ महानगरको डोजरले भत्काएको हो।
फेवातालको दलदले क्षेत्र पुरेर धमाधम प्लटिङ गर्न थालेपछि महानगरपालिकाले पटकपटक सिमसार क्षेत्रमा त्यस प्रकृतिको कार्य नगर्न गरेको अनुरोध गरेको थियो।। तर महानगरको अनुरोधलाई अटेर गरी पुरेर घडेरी छुट्ट्याउन डीपीसी निर्माण गरेपछि त्यसलाई महानगरपालिकाले भत्काइदिएको हो।
सिमसार पुर्ने अनधिकृत कार्यमा संलग्न व्यवसायी युवराज खतिवडाका दर्जनभन्दा बढी टिप्पर र जेसीबीका साथै अन्य व्यवसायीले सिमसार क्षेत्र पुर्न प्रयोग गरिएका उपकरणका चाबीहरू अहिले पनि महानगरपालिकाको नियन्त्रणमा छन्। त्यस क्षेत्रका स्थानीयहरूलाई उक्साएर खतिवडाले सिमसार क्षेत्र पुर्ने कार्यमा प्रेरित गर्दै आएका थिए।
फेवातालको माथिल्लो क्षेत्र वा फेवा फाँट जुन विश्व रामसार सूचिमा सूचिकृत छ। यो फेवातालको आयुसँग प्रत्यक्ष जोडिएको क्षेत्र पनि हो। सिमसार क्षेत्रमा कुनै प्रकारको गतिविधि नगर्न अदालतले अन्तरिम आदेश दिँदा पनि केही स्वार्थ समूहहरूले यसमाथि निरन्तर प्रहार गरिरहेका छन्। पछिल्लो पटक गरिएको भू–वर्गीकरणमा सो क्षेत्रलाई कृषि र अन्य भनी वर्गीकरण गरिएको भए पनि, अन्य अन्तरगतका ९ वटा क्लस्टरहरु विभाजन भने बाँकी नै रहेको छ।
मङ्गलवार महानगरपालिकाले सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरीको उपस्थितिमा दुई वटा जेसीबी प्रयोग गरी प्लटिङ भत्काइदिएको हो। साथै सो क्षेत्रमा निर्माणका कुनै पनि गतिविधिहरू नगर्न र यसअघि निर्माण गरिएका अस्थायी टहराहरू तत्काल हटाउन महानगरपालिकाले निर्देशन दिएको छ।
फेवातालको संरक्षणका लागि सिमसार क्षेत्रमा हुने कुनै पनि प्रकारका अस्वाभाविक गतिविधिहरूलाई निस्तेज पार्ने स्थानीय सरकारको दायित्व प्रति आफूहरू सचेत रहेको महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए। ‘पहिले आग्रह गर्यौँ, पटक पटकको आग्रहलाई अटेर गरेपछि डोजर चलाउन बाध्य हुनुपर्यो,’ प्रमुख आचार्यले भने, ‘फेवाताल पोखरा र पोखरा फेवाताल यी एक अर्कामा अन्योन्याश्रित छन्।’


