काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटबारे स्पष्ट पार्दै बजेटको आकार ठूलो नभई राज्यको क्षमताअनुसार सन्तुलित रहेको बताएका छन्।
बजेटसम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उनले स्रोत व्यवस्थापन र बजेटको आकार बारे भइरहेको आलोचनाप्रति टिप्पणी गर्दै प्रारम्भमा बजारमा २५ खर्ब रुपैयाँसम्मको बजेट आउने अनुमान भएपनि अन्ततः करिब २१ खर्ब २४ अर्ब रुपैयाँ हाराहारीमा बजेट प्रस्तुत गरिएको जानकारी दिए।
‘यो पद र गहन जिम्मेवारी बोकेपछि राजकाजका सीमाबारे भित्रबाट बुझिन्छ नै,’ मन्त्री वाग्लेले भने, ‘सुरुमा २५ खर्बको बजेट आउँछ भन्ने हल्ला थियो, तर अन्तिममा २१ खर्ब रुपैयाँ हाराहारीमा सीमित गरिएको हो।’
उनका अनुसार बजेट प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा २८.५ प्रतिशत मात्र रहेको छ। उनले प्रक्षेपित जिडिपी करिब ७४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको उल्लेख गर्दै त्यो तथ्यांक परिस्थितिअनुसार तलमाथि हुन सक्ने बताए।
मन्त्री वाग्लेले पछिल्ला वर्षहरूमा ३० प्रतिशतभन्दा माथिको बजेट आकारको प्रवृत्ति तोड्दै राज्यको क्षमता अनुसारको बजेट ल्याइएको दाबी गरे। ऋणसम्बन्धी टिप्पणीप्रति प्रतिक्रिया दिँदै उनले सार्वजनिक ऋण बढेको तथ्य स्वीकार गरे।
उनका अनुसार भूकम्पअघि ऋण–जिडिपी अनुपात करिब २५–२६ प्रतिशत रहेकोमा पुनर्निर्माण र कोभिड–१९ महामारीको अवधिमा वृद्धि भई झण्डै ४२–४३ प्रतिशतसम्म पुगेको छ।
उनले भने, ‘आजका मितिमा ३० प्रतिशत भन्दा माथिको ट्रेण्डलाई हामीले भत्काएर राज्यको क्षमता अनुकुल हुने गरी बजेट ल्याएका हौं। बजेट ठूलो होइन, जिडिपीको सापेक्षतामै सानो बजेट आएको छ।
बजारमा ऋणको विषयमा पनि ठूलो चर्चा भएको छ। भूकम्प भन्दा अगाडि हामी २५,२६ प्रतिशतमा थियौं । पुनःनिर्माणको क्रम र कोरोनाका कारण ऋणबेस्सरी बढेकै हो। झण्डै ४२ वा ४३ प्रतिशत पुगेकै हो। त्यो भनेको धेरै वृद्धि हो।’
यसैगरी उनले चार खर्ब १० अर्ब आन्तरिक ऋण खर्ब ४७ अर्ब रुपैयाँ बाह्य ऋण लिएको बताए।
उनले भने, ‘भूकम्प र कोरोना महामारीको समयमा हाम्रो ऋण बेस्सरी बढेकै हो। त्यसबेला भन्दा अहिले कममै छौँ। यसपालि हामीले चार खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण दुई खर्ब ४७ अर्ब रुपैयाँ बाह्य ऋण लिएका छौँ। यो लिएको ऋण पहिले थोपरिएको ऋणमै जाने रहेछ।’
अर्को वर्षदेखि ऋण नेटमा हिसाब गर्नेबारे गभर्नर प्राडा विश्वनाथ पौडेलसँग पनि छलफल गरिरहेको उनले जानकारी दिए। अर्को वर्ष तयारीका साथ नयाँ विधि अपनाइने उनले बताए।
अर्थमन्त्रीका अनुसार यो साल वैदेशिक ऋण ७२ अर्ब तिरिने भएको छ। ऋण छ खर्ब ५७ अर्ब रुपैयाँ लिएको र तिरेको रकम तीन खर्ब १८ अर्ब रुपैयाँ रहेको छ। त्यस्तै, उनले तलब वृद्धि २१ प्रतिशत नै भएको उनले दाबी गरे।
अर्थमन्त्रीले भने, ‘तलब वृद्धि २१ प्रतिशत नै हो है, डाउट नहोस् झुक्क्यायो, ढाँट्यो भन्ने कुराहरू आइरहेको छ। त्यस्तो होइन, १० प्रतिशत बेसमै भएको हो। बढेको बेसमा अर्को १० प्रतिशत भएको हो।’


