काठमाडौं।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालू आर्थिक वर्ष मुलुकको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) बढेर ७४ खर्ब ५८ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण सार्वजनिक गरेका छन्।
शुक्रबार सार्वजनिक गरेको बजेटको विषयमा जानकारी दिन आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रक्षेपित जीडीपी ७४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको जानकारी दिए।
उक्त जीडीपीका आधारमा बजेटको आकार जम्मा २८.५ प्रतिशत मात्र रहेको उनले स्पष्ट पारे। यस्तै ऋण पनि जीडीपीको ४३ प्रतिशत मात्र भएको तथ्यांक पेश गरेका छन्।सरकारले आगामी आवका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले गत वैशाख १५ मा सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकअनुसार जीडीपी बढेर ६६ खर्ब रुपैयाँ पुगेको छ। यो वर्ष ३.८५ प्रतिशत आर्थिक वृद्धि हुने कार्यालयले जनाएको छ। सरकारले आगामी वर्ष आर्थिक वृद्धि सात प्रतिशत हुने अनुमान गरेको छ। यस्तै मुद्रास्फिती छ प्रतिशतमा सीमित गर्ने योजना सरकारको छ।
अर्थमन्त्री वाग्लेले प्रक्षेपित जीडीपी आकारलाई देखाएर सरकारले प्रस्तुत गरेको बजेटको आकार आउँदो आर्थिक वर्षका लागि ठूलो देखिए पनि जीडीपीको अनुपातमा सानो रहेको बताए।
उनले जीडीपीको अनुपातमा बजेटको आकार ३० प्रतिशतभन्दा माथि जाने विगतको प्रवृत्तिलाई तोडेर राज्यको कार्यान्वयन क्षमताअनुकूल हुने गरी बजेट ल्याइएको जिकिर गरे। जीडीपीको वास्तविक आकार आउँदा दिनमा केही तलमाथि हुन सक्ने र त्यसबारे मध्यावधि समीक्षामा थप मूल्यांकन गरिने उनले जानकारी दिए।
“जीडीपी प्रक्षेपित जीडीपीको सापेक्षतामा जम्मा २८.५ प्रतिशतको बजेट आएको छ,” उनले भने, “हाम्रो प्रक्षेपित जीडीपी ७४ खर्ब ५८ अर्ब छ, अब त्यो अलिकति तल पनि हुनसक्छ, त्यो पछिको कुरा भयो। मध्यावधि संशोधनमा हामी ती कुराहरू हेरौँला।”
उनले बजेटको आकार निर्धारण गर्दा राज्यको स्रोत, क्षमता र कार्यान्वयन पक्षलाई विशेष ध्यान दिइएको सुनाए ।
सरकारले बजेटलाई २५–३० प्रतिशतको दायराभित्र राख्दै यथार्थपरक र कार्यान्वयनयोग्य बनाउने प्रयास गरेको उनले बताए।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटबारे स्पष्ट पार्दै बजेटको आकार ठूलो नभई राज्यको क्षमताअनुसार सन्तुलित रहेको बताएका छन्।
बजेटसम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उनले स्रोत व्यवस्थापन र बजेटको आकार बारे भइरहेको आलोचनाप्रति टिप्पणी गर्दै प्रारम्भमा बजारमा २५ खर्ब रुपैयाँसम्मको बजेट आउने अनुमान भएपनि अन्ततः करिब २१ खर्ब २४ अर्ब रुपैयाँ हाराहारीमा बजेट प्रस्तुत गरिएको जानकारी दिए।
ऋणसम्बन्धी टिप्पणीप्रति प्रतिक्रिया दिँदै उनले सार्वजनिक ऋण बढेको तथ्य स्वीकार गरे। उनका अनुसार भूकम्पअघि ऋण–जिडिपी अनुपात करिब २५–२६ प्रतिशत रहेकोमा पुनर्निर्माण र कोभिड–१९ महामारीको अवधिमा वृद्धि भई झण्डै ४२–४३ प्रतिशतसम्म पुगेको छ।
उनले भने, ‘आजका मितिमा ३० प्रतिशत भन्दा माथिको ट्रेण्डलाई हामीले भत्काएर राज्यको क्षमता अनुकुल हुने गरी बजेट ल्याएका हौं। बजेट ठूलो होइन, जिडिपीको सापेक्षतामै सानो बजेट आएको छ।
बजारमा ऋणको विषयमा पनि ठूलो चर्चा भएको छ। भूकम्प भन्दा अगाडि हामी २५,२६ प्रतिशतमा थियौं । पुनःनिर्माणको क्रम र कोरोनाका कारण ऋणबेस्सरी बढेकै हो। झण्डै ४२ वा ४३ प्रतिशत पुगेकै हो। त्यो भनेको धेरै वृद्धि हो।’
यसैगरी उनले चार खर्ब १० अर्ब आन्तरिक ऋण खर्ब ४७ अर्ब रुपैयाँ बाह्य ऋण लिएको बताए।
उनले भने, ‘भूकम्प र कोरोना महामारीको समयमा हाम्रो ऋण बेस्सरी बढेकै हो। त्यसबेला भन्दा अहिले कममै छौँ। यसपालि हामीले चार खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण दुई खर्ब ४७ अर्ब रुपैयाँ बाह्य ऋण लिएका छौँ। यो लिएको ऋण पहिले थोपरिएको ऋणमै जाने रहेछ।’


