काठमाडौँ- आन्तरिक राजस्व विभागले घर जग्गाको कारोबारमा प्राकृतिक व्यक्तिलाई साविक बमोजिम नै पुँजीगत लाभ कर लाग्ने प्रष्ट पारेको छ।
आर्थिक विधेयक, २०८० को दफा २९ मा रहेको द्विविधालाई स्पष्ट पार्दै विभागले प्राकृतिक व्यक्तिले गरेको घरजग्गा कारोबारमा विगतकै ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभ कर कायम हुने जनाएको छ।
१ वर्षभन्दा कम समयमा घरजग्गा कारोबार गर्दा ७.५ प्रतिशत र १ वर्षभन्दा बढी समयमा स्वामित्व कायम गरी सम्पत्ति बिक्री गर्दा ५ प्रतिशत कर लाग्ने व्यवस्था रहेको छ।
आगामी आर्थिक वर्षको आर्थिक विधेयक मार्फत सेयर तथा घरजग्गा कारोबार व्यवसायिक रुपमा गर्ने कारोबारीलाई आयकर ऐनअनुसार कर लाग्ने व्यवस्था गरेको थियो।
सेयर लगानीकर्ताले विरोध गरेपछि यसअघि नै सेयर बजारमा पनि प्राकृतिक व्यक्तिका हकमा ५ प्रतिशत र ७.५ प्रतिशतका पुरानै व्यवस्थानुसार पुँजीगत लाभकर लाग्ने विभागले स्पस्ट पारिसकेको छ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले समेत प्राकृतिक व्यक्तिको हकमा उक्त व्यवस्था लागु नहुने आश्वस्त पारेका थिए।



