काठमाडौं–उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले थप सात स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने भएको छ। प्रत्येक स्थानीय तहमा ग्राम घोषणा गर्ने सरकारको नीतिअनुसार थप सात ठाउँमा घोषणा गर्न लागिएको हो। हालसम्म ११३ ग्राम घोषणा भइसकेकामा थप सात ठाउँमा ग्राम घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको मन्त्रालयले जनाएको छ। मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ।
कालीकोटको रास्कोट नगरपालिका, कालीकोटकै नरहरिनाथ गाउँपालिका, बाँकेको राप्तीसोनारी गाउँपालिका, पाल्पाको रम्भा गाउँपालिका, अर्घाखाँचीको शीतगंगा नगरपालिकामा ग्राम घोषणा गर्न लागिएको हो। यस्तै, पर्साको जगतनाथपुर गाउँपालिका, बाराको गढीमाई नगरपालिकामा ग्राम घोषणा हुुन लागेको हो।
सरकारले यसअघि गत चैत अन्तिम साता ८ स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको थियो। काभ्रेको मण्डनदेउपुर नगरपालिका, बेथानचोक गाउँपालिका, नुवाकोटको लिखु गाउँपालिका, म्याग्दीको रघुगंगा, पाल्पाको रिब्दीकोट, गुल्मीको रुरुक्षेत्र, जुम्लाको तातोपानी र दार्चुलाको अपिहिमाल गाउँपालिकामा औद्योगिक ग्राम घोषणा गरेको हो।
मन्त्रालयका अनुसार हालसम्म कोसी प्रदेशमा १०, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिममा १६ ग्राम घोषणा भएका छन्। औद्योगिक ग्राम निर्माणका लागि केन्द्र सरकारबाट १ अर्ब ३० करोड १४ लाख विनियोजन भएको छ। सरकारले २०७४ मा प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको थियो।


