काठमाडौं– निजी क्षेत्रको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले पूर्वी पहाडी जिल्लामा साता दिनअघि आएको बाढीपहिरोका कारण कुल ४६३ मेगावाट क्षमताका ३० आयोजनामा ८ अर्ब ५० करोड बराबरको प्रारम्भिक क्षति भएको जनाएको छ। बाढीपहिरोका कारण विद्युत् प्राधिकरणको प्रणालीमा १६४ मेगावाट बराबरको बिजुली आपूर्ति अवरुद्ध भएको छ।
हाल प्राधिकरणको प्रणालीमा विभिन्न १० आयोजनाको बिजुली उपलब्ध हुन सकेको छैन। त्यसबाट प्राधिकरणलाई बिजुली व्यवस्थापनमा समेत समस्या हुने गरेको छ। प्राधिकरणका अनुसार काबेली करिडोरका काबेली ‘बी’१ २५ मेगावाट, काबेली ‘बी’ एक क्यासकेड ९.९४ मेगावाट, इवा खोला ९.९ मेगावाट, हेवा खोला १४.९ मेगावाट र तल्लो हेवा २२ मेगावाट बराबरको बिजुली प्रणालीमा आउन सकेको छैन।
ती आयोजनाको कुल क्षमता ८१.७४ मेगावाट छ। त्यस्तै, एउटा युनिटमा समस्या आएका कारण ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुंगा खोला आयोजनाबाट ३.७५ मेगावाट मात्रै बिजुली प्रणालीमा जोडिएको छ। ‘सिङ्क्रोनाइजिङ ब्रेकर’मा समस्या आएका कारण सोलु दूधकोसी जलविद्युत् आयोजनाले पनि पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न सकेको छैन।आयोजनाको कुल क्षमता ८६ मेगावाट भए पनि हाल २८.६ मेगावाट मात्रै प्रणालीमा उपलब्ध रहेको प्राधिकरणको भार प्रेषण केन्द्रले जनाएको छ।
दोर्दी करिडोरको सुपर दोर्दीले पनि कुल क्षमताको पचास प्रतिशत मात्रै बिजुली उत्पादन गरेको छ। आयोजनाको कुल क्षमता ५४ मेगावाट भए पनि हाल मात्रै २७ मेगावाट मात्रै बिजुली उत्पादन गरिरहेको छ। दोर्दी आयोजनाले १८ मेगावाट मात्रै बिजुली प्रणाली पठाइरहेको छ। आयोजनाको क्षमता २७ मेगावाट हो। ५ मेगावाट क्षमताको घलेम्दीको ‘पेनस्टक पाइप’मा समस्या आएकाले हाल प्रणाली बाहिर छ।
बाढीपहिरोले पूर्वी नेपालका परियोजना बन्द हुँदा त्यसको व्यवस्थापनका लागि माथिल्लो तामाकोसी र सोलु करिडोरका अन्य आयोजनाको बिजुली पूर्वी नेपालतर्फ पठाइएको प्राधिकरणका प्रवक्ता शुरेबहादुर भट्टराईले बताए। ‘बाढीपहिरोका कारण आयोजना पूर्ण रूपमा बन्द हुँदा त्यसको व्यवस्थापनका लागि प्राधिकरणलाई केही समस्या भए पनि वर्षाका कारण अन्य आयोजनामा उल्लेख्य मात्रामा बिजुली उत्पादन भएकाले समस्या भएको छैन’, उनले भने।
हाल देशभित्रको कुल माग १ हजार ८८१ मेगावाट छ। यस्तै, वर्षालगायतका कारणले ४ सय मेगावाट घन्टा ऊर्जा भने उपलब्ध हुन सकेको छैन।
हाल निजी उद्यमीका आयोजनाबाट २२ हजार ७५० मेगावाट घन्टा बराबरको बिजुली उपलब्ध छ। विद्युत् खरिद सम्झौताअनुसार नै केही आयोजनालाई कम भारमा आयोजना चलाउन भनिएको प्रवक्ता भट्टराईको भनाइ छ। ‘निजी उद्यमीले भनेजस्तो होइन। केही आयोजनालाई विद्युत् खरिद सम्झौता अनुसार नै भनिएको हो’, प्रवक्ता भट्टराईले भने, ‘आवश्यक पर्दा पूर्ण क्षमतामै चलाउन भनिएको छ।’
प्राधिकरणका कारण ३० जलविद्युत् आयोजनाको ५ सय मेगावाट बराबरको विद्युत् खेर गएको इप्पान अध्यक्ष गणेश कार्कीको दाबी छ। प्रवद्र्धकले आधा क्षमतामा आयोजना चलाएर बैंकको ब्याजसमेत तिर्न नसक्ने अवस्था आएको उनीहरूको भनाइ छ।


