काठमाडौं– आज १५ असार। बारीकान्ला र खेतमा व्यस्त रहनुपर्ने परम्परागत मान्यताअनुसार आज दिनभरजसो किसानलाई धान रोपाइँको चटारो हुने गर्छ। ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मूल नाराका साथ आज देशैभर २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतका विभिन्न निकाय तथा विभागले विचार गोष्ठी, तथा रोपाइँ गरेर महोत्सव मनाइने कृषि विभागका महानिर्देशक एवं धान दिवस तथा रोपाइँ महोत्सव मूल आयोजक समिति अध्यक्ष डा. हरिबहादुर केसीले बताए।
‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा पनि यो धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउने गरेको छ। यो दिवसका दिन अधिकांश स्थानमा रोपाइँ सुरु गर्ने गरेको पाइन्छ। खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि मनाइने गरेको बताइन्छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलामा बोरिङबाट निकालिएको पानीले रोपाइँ गर्दै स्थानीय किसान। तस्बिरः गोकुल जोशी/रासस
धान रोपाइँ महोत्सव अवसरमा रोपाइँ गर्ने दिन हिलो छ्यापेर पनि मनाउने गरिन्छ। पोखरा, चितवनलगायतका ठाउँमा विशेष महोत्वसका रूपमा यो दिनलाई मनाउने गरिन्छ। ती ठाउँमा विदेशी पर्यटकको पनि सहभागिता हुन्छ। रोपाइँ गर्दैगर्दा विदेशी पर्यटकले हिलो छ्यापेर महोत्सव मनाउने गरेको पाइन्छ।
कृषिप्रधान देश नेपालमा खाद्य सुरक्षाको प्रमुख आधारका रूपमा रहेको धान उत्पादनलाई महत्त्व दिँदै आएका कारण सरकारले १५ असारलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको महानिर्देशक केसीले बताए। प्रमुख खाद्यान्न बाली धान खाद्य सुरक्षाको प्रमुख आधार रहेको बताउँदै उनले यसको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकलगायत महत्त्व रहेको धारणा व्यक्त गरे।

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बाराहीटोलस्थित भुङभुङेमा रोपाइँका लागि गोरुको सहायताले खेत हिल्याउँदै किसान। असार लागेसँगै जिल्लाका विभिन्न ठाउँमा रोपाइँ सुरु भएको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस
धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्धति पनि हो। धानको यिनै विविध महत्त्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले २०६१ देखि नियमित रूपमा प्रत्येक वर्ष १५ असारमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै आएको छ।
सरकारी तथ्यांकअनुसार चालू आर्थिक वर्षमा धान उत्पादनमा वृद्धि भएको छ। यस वर्ष ५४ लाख ८६ हजार ४७२ टन धान उत्पादन भएको कृषि त मन्त्रालयले जनाएको छ। यो परिमाण २०७८/७९ को तुलनामा ३ लाख ५५ हजार ८४७ टन बढी उत्पादन भएको हो।

टोखा नगरपालिका वड नं-३ स्थित टोखामा धान रोपाइँ गर्दै किसान । तस्बिर : हरिराम भेटुवाल / रासस
आर्थिक सर्वेक्षण अनुसार चालू आवमा कृषि क्षेत्रको उत्पादन २.७ प्रतिशतले वृद्धि हुने अनुमान छ। गत आवमा यसको वृद्धि २.२ प्रतिशतले वृद्धि भएको थियो। पछिल्लो १० वर्षमा कृषि क्षेत्रको औसत वृद्धिदर २.९ प्रतिशत रहेको छ। धान, गहुँ, मकैलगायत खाद्यान्न बालीको उत्पादन ३.८५ प्रतिशतले बढ्ने अनुमान छ।


