काठमाडौँः बिहीबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन बुधबार अन्तिम समयमा सुधार देखिएको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो । परिसूचकसँगै बजारमा सेयर कारोबार रकममा समेत उल्लेख्य कमी आएको छ ।
यस दिन नेप्से परिसूचक १२.९५ अंकले घटेर २ हजार ६५२.५८ विन्दुमा झरेको छ । बुधबार बजारको अन्तिम समयमा सकारात्मक सुधार देखिए पनि त्यसले बिहीबार निरन्तरता पाउन सकेन ।
नेप्से घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । बुधबार ७ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएकोमा बिहीबार भने ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार रुपैयाँमा सीमित भएको छ । यस दिन ३४९ वटा स्टकको १ करोड २३ लाख ७३ हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब २ अर्ब ७१ करोड रुपैयाँले घटेको छ ।
बिहीबार कारोबारमा आएका धितोपत्रमध्ये १०.२५ प्रतिशत केबीएल डिबेञ्चर २०८६ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त डिबेञ्चरको मूल्य यस दिन ५.०९ प्रतिशतले ओरालो लागेको हो ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । कम्पनीको यस दिन १८ करोड १९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।


