काठमाडौँ: निजी लगानीमा स्थापना भएको पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले जलविद्युत्मा आक्रामक लगानी विस्तार गरेको छ। ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत् आयोजना ‘ख’ सञ्चालन गरिरहेको पिपुल्सले १२८ मेगावाटको चार जलविद्युत् आयोजनामा लगानी गरेको छ।
कम्पनीले आफ्नै स्वामित्वमा रहेको ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत् आयोजना, २१.४ मेगावाटको इंखुखोला जलविद्युत् आयोजना, २७.९ मेगावाटको मिडिल इंखुखोला र २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत् आयोजनामा लगानी गरेको छ।
हिमचुली दोर्दीमा कम्पनीको पूर्ण लगानी रहेको छ। यस्तै इंखुखोलामा ५० र मिडिल इंखुमा २५ प्रतिशत सेयर लगानी रहेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
यसैगरी नर्थ समिट हाइड्रोपावर लिमिटेडले प्रवद्र्धन गरेको न्यादी फिदी र जनता एग्रो एन्ड फरेस्टी लिमिटेडमा संस्थापक लगानीकर्ता भएको छ।
कम्पनीको पूर्ण स्वामित्व रहेको हिमचुली दोर्दी आयोजना नेपाल विद्युत् प्राधिकरणमा विद्युत् खरिद सम्झौता (पीपीए)का लागि पहिलो नम्बरमा रहेको छ। पीपीए हुनसाथ लगानी जुटाएर आयोजना निर्माण अघि बढाउने योजना रहेको कम्पनीका प्रबन्ध सञ्चालक केशव रायमाझीले बताए।
उक्त आयोजनामा नबिल बैंक र सानिमा बैंकले ऋण लगानीको नेतृत्व गर्न इच्छुक रहेको उनले जानकारी दिए। पीपीए हुनासाथ वित्तीय व्यवस्थापन भई आयोजना निर्माणमा जाने उनको भनाई छ। आयोजना चार वर्षदेखि पीपीएको पर्खाइमा रहेको उनले जानकारी दिए।
‘विद्युत् विकास विभागले दिएको विद्युत् उत्पादन इजाजत (लाइसेन्स) को समय सकिन लाग्यो, तर विद्युत् प्राधिकरणले पीपीए नगर्दा समस्या भएको छ’ उनले भने।
अन्य आयोजनाको सम्भाव्यता अध्ययन जारी रहेको प्रबन्ध सञ्चालक रायमाझीले जानकारी दिए। पीपीए नहुँदा कम्पनीको दायित्व आयोजनामा परिरहेको उनले बताए।
नाफा बढ्दै, तीन महिनामा २४ करोड
गत आर्थिक वर्षसम्म कमजोर वित्तीय अवस्थामा रहेको पिपुल्स हाइड्रोपावरको चालू आर्थिक वर्षदेखि वित्तीय अवस्थामा ठूलो सुधार आएको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमाश(साउनदेखि असाजसम्म) पिपुल्सले २४ करोड १३ लाख रुपैयाँ खुदनाफा गरेको छ।
गत वर्षको यही अवधिमा पिपुल्सले ६५ लाख ६३ हजार रुपैयाँ मात्र नाफा गरेको थियो। गत आर्थिक वर्षमा कम्पनीले ७ करोड १३ लाख रुपैयाँ नाफा गरेको थियो। चालू आर्थिक वर्षको तीन महिनामा आयोजनाबाट उत्पादन भएको बिजुली बेचेर ५१ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ।
गत वर्षको पहिलो त्रैमाशमा ३१ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको थियो। गत वर्षको तुलनामा चालू वर्षको तीन महिनामा कम्पनीको आम्दानी झण्डै सतप्रतिशत बढेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। गत वर्ष कम्पनीले १ अर्ब १५ करोड रुपैयाँ आम्दानी गरेको थियो। यो वर्ष आम्दानी दोब्बर बढ्ने देखिएको छ।
विद्युत् प्राधिकरणले मर्स्याङ्दी नदी करिडोरमा निर्माण गर्नुपर्ने २२० केभी प्रसारण लासमयमा सम्पन्न नगर्दा वैकल्पिक व्यवस्था (कन्टिजेन्सी प्लान) अन्तर्गत विद्युत् बिक्री भईरहेकोले आम्दानीमा प्रत्यक्ष असर परेको कम्पनीले जनाएको छ।
हाल मस्र्याङदी करिडोर मार्किचोक–भरतपुर २२० केभी प्रसारण लाइन सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएकाले आयोजनालाई लगाएको कन्टिजेन्सी प्लान हटाउन विद्युत् नियमन आयोगबाट स्वीकृत प्राप्त भई सम्झौता संशोधनको प्रकृयामा रहेको छ। आयोजनामा लगाइएको वैकल्पिक व्यवस्थाको अन्त्य भएपछि आम्दानी उल्लेख वृद्धि हुने भएको छ।
सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ छ। कम्पनीले सुपर दोर्दी आयोजना बनाउन बैंकबाट लिएको ऋण दायित्व ८ अर्ब १६ करोड रुपैयाँ छ।
यस्तै कम्पनीले बैंकबाट लिएको ऋण दायित्व घटाउन १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ। हकप्रद सेयर निष्कासन गर्न वार्षिक साधारणसभाका साथै विद्युत् नियमन आयोगबाट पनि स्वीकृति प्राप्त गरिसकेको छ।
अन्तिम स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएर स्वीकृतिको प्रक्रियामा रहेको पिपुल्सले जनाएको छ। हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी बढेर ६ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ।

