काठमाडौँ- सन् २०२३ को ६ महिनामा ४ लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो।
सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको छ।
बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्म कुल पाँच लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। साथै सोही अवधिमा कोरोना महामारी सुरु भएको वर्ष सन् २०२० मा दुई लाख २० हजार आठ सय १५, सन् २०२१ मा ५८ हजार ५८ र सन् २०२२ मा दुई लाख ४० हजार नौ सय एक जना विदेशी पर्यटक नेपाल आएका थिए।
यस वर्षको जनवरीदेखि जुनसम्म नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा ९७ दशमलव ७९ प्रतिशतले बढी हो भने सन् २०१९ को तुलनामा १६ दशमलव ९३ प्रतिशतले कम हो।
बोर्डका अनुसार यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुईसय ४४, मार्चमा ९९ हजार चार सय २६, अप्रिलमा ९८ हजार सातसय ७३ र मेमा ७७ हजार ७ सय तीन विदेशी पर्यटक नेपाल आएका थिए। साथै जुनमा ७२ हजार दुईसय ५० जना विदेशी पर्यटक नेपाल आएका छन्।
जुन महिनामा भारतबाट ३८ हजार ८४५, अमेरिकाबाट ८ हजार ४७०, चीनबाट ४ हजार ३४३, बङ्गलादेशबाट २ हजार ४०२, बेलायतबाट १ हजार ९९२ पर्यटक नेपाल आएका छन्।
यस्तै अष्ट्रेलियाबाट १ हजार ६३९, मलेसियाबाट १ हजार ७९, दक्षिण कोरियाबाट ८८८, जापानबाट ७६४ जना पर्यटक नेपाल भित्रिएका छन्।


