काठमाडौँ- प्रतिनिधिसभा बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०८० पारित गरेको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकले विधेयक पारित गरेको हो।
यसअघि दुई सांसदले संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए। प्रेम सुवाल र सुमना श्रेष्ठले पेस गरेका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै विधेयक पारित भएको छ।
सांसद सुवालले राष्ट्रले ऋण लिन आवश्यक नभएको बताएका थिए। ‘नेपालीको स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्ने, सम्पत्तिको सिमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गरियो भने राज्यकोष मजबुद हुन्छ, ऋण लिन जरुरी हुँदैन,’ उनको भनाइ थियो।
यस्तै, सांसद सुमना श्रेष्ठले विभिन्न मन्त्रालयअन्तर्गतका बेरुजु र शोधभर्नाका कारण ऋण लिनसक्ने विश्वासको आधारसमेत प्रस्तुत गर्न नसक्ने अवस्थामा पुगेको बताएकी थिइन्।
‘बजेटको आधाभन्दा बढी बेरुजु छ। कुन विश्वासका आधारमा अझै पनि ऋण लिने,’ उनको प्रश्न थियो।


