काठमाडौं– आजदेखि सात दिनसम्म प्रदेश र स्थानीय सरकारलाई सरकारी खाताको रकम चलाउन रोक लगाइएको महालेखा नियन्त्रक कार्यालयले बताएको छ। महालेखाले जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ साउन राती १२ बजेपछि कुनै पनि रकम भुक्तानी लिन पाउने छैनन्।
प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम भुक्तानी हुने छैन। ‘आइतबार राती १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेक सोमबार पनि साटिन सक्नेछन् तर कानुनअनुसार सोमबारबाट नयाँ चेक जारी गर्न पाइँदैन’, सूचनामा भनिएको छ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० ले आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था गरेको छ। यद्यपि नियमावलीमा संघीय सरकारलाई रकमान्तर गर्दै खर्चिने छुट दिइएको छ।


