काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले ठूलो परिणामको सुन बरामद गरेसँगै ५ जनालाई पक्राउ परेको छ। पक्राउ पर्नेमा ट्याक्सी चालक र भन्सार एजेन्टलगायत रहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाानाले जानकारी दिए।
‘सुन कसरी भित्रियो भन्ने विषयमा अनुसन्धान थालेका छौँ,’ महानिर्देशक ढुंगानाले भने, ‘हालसम्म ५ जना पक्राउ परेका छन्। उनीहरूसँग बयान पनि लिइएको छैन। उनीहरू ट्याक्सी चालक र भन्सार एजेन्टलगायत हुन्।’ उनीहरूलाई सोधपुछ गरेपछि केही खुल्न सक्ने ढुंगानाको भनाइ छ। विभागले पक्राउ पर्नेहरूको परिचय खुलाएको छैन।
उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय विभागबाहिर राजस्व अनुसन्धान विभागले कार्गो निरीक्षण गर्ने क्रममा उक्त सुन भेटिएको हो। सुन तस्करी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा विभागले कार्यदल बनाएको थियो। त्यसैले शंकास्पद वस्तुहरूमाथि निगरानी बढाएकाले सुन बरामद गर्न सफल भइएको ढुंगानाले जानकारी दिए।
विभागका अनुसार १६० टुक्रा सुन फेला परेको छ। यद्यपि सुनको तौल कति छ भन्ने खुलेको छैन। यसरी बरामद भएको सुनको तौल भन्सार विभागले आफैँ लिन पाउँदैन। तसर्थ यसको नापजाँचका लागि नेपाल राष्ट्र बैंकमा पठाउन तयारी भइरहेको ढुंगानाले जानकारी दिए। यद्यपि ८० देखि १०० किलोसम्म सुन हुन सक्ने अनुमान गरिएको विभागको छ।
सुन अहिलेसम्मकै फरक शैलीबाट राजस्व छलेर भित्र्याइएको र ठूलो परिणामको भएको समेत अनुमान गरिएको छ। उक्त सुन हङकङबाट क्याथे प्यासिफिक जहाजमार्फत आएको थियो।
बरामद गरिएको वस्तुमा ९९ प्रतिशतभन्दा बढी शुद्धताको सुन रहेको विभागको अनुमान छ। मोटरका पार्टसभित्र सुन राखेर ल्याएको देखिएको विभागको भनाइ छ।
उक्त सुन रहेको सामग्रीलाई भन्सार विभागले भन्सार पास समेत गरिसकेको थियो। भन्सार कार्यालयको एक्सरे मेसिनले ठूला फलामका सामानलाई नहेर्ने भएकाले त्यसको फाइदा तस्करले उठाएको अनुमान छ।


