काठमाडौँ- मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ठूलो परिणामको अवैध सुन जोख्नका लागि राजस्व अनुसन्धान विभागले नेपाल राष्ट्र बैंक पठाउने तयारी गरेको छ। विभागका कर्मचारीहरुले राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखामा लगेर सुन जोख्ने तयारी गरेका हुन्।
महाशाखाले सुनको परिणाम र गुणस्तर परीक्षण गरी निर्क्योल गर्नेछ। हालसम्म विभागले सुन नपठाएको तर पठाउने तयारी भइरहेको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले नेपाल क्लिक्सलाई जानकारी दिए।
‘सुन प्राप्त भइसकेको छैन।आउने प्रकृयामा छ। सुनको ब्रेकसु रहेछ त्यसलाई ल्याउने तयारी भइरहेको छ। राजस्वका साथीहरु आएर छलफल गरेर जानुभयो,’ उनले भने, ‘राख्ने चाँही यही राख्ने होला। तर, प्रक्रिया कतिबेला सकिन्छ यकिनका साथ भन्न सकिने अवस्था छैन।’
टक्सार महाशाखाले सुनको परीक्षण, नाप, जाँच गरेपछि बरामद गरेको सुन राष्ट्र बैंकको बैंकिङ विभागमा पठाउने काम गर्छ। मुद्दाको किनारा नलाग्दासम्म राष्ट्र बैंकले तौल नापजाँच गरिएको सुन मुचुल्का उठाएर राष्ट्र बैंकले राख्ने गर्छ।
बरामद गरिएको सुन सरकारलाई प्राप्त हुने अवस्था आएमा सुन राष्ट्र बैंकमा रहने र सुनको मूल्य बराबरको रकम नेपाल सरकारले प्राप्त गर्ने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए।
मोटरसाइकलको ब्रेकसुमा लुकाइएर ल्याइएको १६० टुक्रा सुनको अनुमान तौल ८० देखि १०० केजीसम्म हुने अनुमान राजस्व अनुसन्धान विभागको छ। यद्यपि राष्ट्र बैंकमा लगेर त्यसलाई गालेर नाप तौल नलिँदासम्म कति परिणाम र कस्तो गुणस्तरको सुन बरामद भएको हो एकिन भन्न नसकिने राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए।
‘बाइकको ब्रेकसुभित्र रहेको सुन आन्तरिक राजस्व विभाग पठाउने भन्ने तयारी भइरहेको छ,’ उनले भने, ‘राष्ट्र बैंक पठाएपछि उहाँहरुले त्यसलाई गालेर त्यसको कुल तौल कति रहेछ भन्ने विवरण विभागलाई पठाउनु हुन्छ। त्यसपछि मात्रै कति परिमाणमा सुन बरामद भएको रहेछ जानकारी हुन्छ।’
यो प्रकरणमा विभागले हालसम्म ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सी चालक छन्। भान्जा दिलीपको बयानका आधारमा मामा रामकुमार पक्राउ परेका हुन्। मामाभान्जा बुधबार पक्राउ परेका हुन् भने बाँकी तीन जना मंगलबार पक्राउ परेका हुन्।
सुन तस्करी प्रकरणको अनुसन्धान व्यापारी दीपक मल्होत्रातिर समेत सोझिएको छ। मंगलबार भन्सार पास भएर बाहिर जान लागेको झन्डै एक सय किलो सुन तस्करीमा प्रकरणमा व्यापारी दीपक मल्होत्राको संलग्नता हुन सक्ने यो प्रकरणमा अनुसन्धान गरिरहेका अधिकारीको भनाइ छ।


