काठमाडौँ- मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट बरामद गरिएको सुन रहेको सामग्रीसमेतको तौल १५५ किलग्राम पुगेको छ। नेपाल राष्ट्र बैंकले ब्रेकसुसहितका सामग्रीको तौल १५५ किलोग्राम पुगेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए।
सुन जोख्नका लागि राजस्व अनुसन्धान विभागका कर्मचारीहरुले राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखामा ८ पोका बनाएर सुन पुर्याएका थिए।
महाशाखाले सुनको परिणाम र गुणस्तर भने परीक्षण गर्न बाँकी छ। सुनको तौल थाहा पाउनका लागि सुन पगाल्नुपर्ने तर विभागले सुन पगाल्नका लागि नभनेकाले सुनको परिणाम भने थाहा हनु नसकेको राष्ट्र बैंकले जानकारी दिएको छ।
मुद्दाको किनारा नलाग्दासम्म टक्सारले नापजाँच गरेका सामग्री मुचुल्का उठाएर राष्ट्र बैंकअन्तर्गतन नै राखिने गरिन्छ। बरामद गरिएको सुन सरकारलाई प्राप्त हुने अवस्था आएमा सुन राष्ट्र बैंकमा रहने र सुनको मूल्य बराबरको रकम नेपाल सरकारले प्राप्त गर्ने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए।
मोटरसाइकलको पार्टस् ब्रेकसुमा लुकाएर ल्याएको १६० टुक्रा सुनको तौल १०० केजीसम्म हुने अनुमान राजस्व अनुसन्धान विभागको छ।
सुन तस्करीको यो प्रकरणमा विभागले हालसम्म ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सी चालक छन्। भान्जा दिलीपको बयानका आधारमा मामा रामकुमार पक्राउ परेका हुन्। मामाभान्जा बुधबार पक्राउ परेका हुन् भने बाँकी तीन जना मंगलबार पक्राउ परेका हुन्। उनीहरूलाई म्याद थप गर्नका लागि पाटन उच्च अदातलमा हाजिर गराइएको थियो। अदालतले १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ।
सुन तस्करी प्रकरणको अनुसन्धान व्यापारी दीपक मल्होत्रातिर समेत सोझिएको छ। यद्यपि मल्होत्राले उक्त आशंका निराधार रहेको जिकिर गरेका छन्।
मंगलबार भन्सार पास भएर बाहिर गइसकेको सुन विभागले बरामद गरेको थियो। भन्सारले सुन राखिएका सामग्रीको जाँचपास समेत गरेकाले नेपालको भन्सारको विश्वसनीयतामाथि प्रश्न उठेपछि यसको छानबिन गर्न भन्सार विभागले टोली गठन गरेको छ।


